सेयर बजारमा निरन्तर गिरावटः नेप्से २७४४ विन्दुमा झर्दा करिब ५ अर्बको कारोबार
काठमाडौँ, १६ बैशाख । सेयर बजार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक २५.८१ अङ्कले घटेर २७४४.४५ विन्दुमा ओर्लिएको छ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार २६९ कम्पनीका १ करोड २१ लाख ४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन मङ्गलबार ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।
यस दिन ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०६ अङ्क, फ्लोट इन्डेक्स १.७४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०९ अङ्कले घटेका छन्।
कारोबारमा आएका १३ उपसमूहमध्ये १० वटाको सूचक नकारात्मक बनेका छन् भने ३ वटा मात्र सकारात्मक रहेका छन्। आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक घटेको छ। त्यसैगरी, निर्जीवन बिमा, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
बढेका उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले उकालो लागेको छ भने विकास बैंक र म्युचुअल फन्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ।
समग्र बजार घटे पनि आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस बैंकको सेयर मूल्य १३.८१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, नेपाल लाइफ समृद्धि लगानी योजनाको एकाइ मूल्य ३.८७ प्रतिशतले बढेको छ।
यता, ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ को मूल्य सर्वाधिक ११.४६ प्रतिशतले ओरालो लागेको छ भने शिखर पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, दोस्रो स्थानमा रहेको पाल्पा सिमेन्ट्सको २० करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।