त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई सुरक्षाका लागि निषेधित सामग्रीहरू नष्ट
काठमाडौँ, वैशाख १६ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले हवाई यात्राका क्रममा सुरक्षाका दृष्टिकोणले जोखिमयुक्त मानिएका र कानुनद्वारा निषेधित विभिन्न सामग्रीहरू बिहीबार नष्ट गरेको छ ।
विमानस्थलबाट प्रस्थान गर्ने यात्रुहरूले लैजान खोज्दा सुरक्षा जाँचका क्रममा बरामद गरिएका, यात्रुहरूबाट छुट्न पुगेका वा बेवारिसे अवस्थामा फेला परेका सामग्रीहरूलाई कार्यालयले नष्ट गरेको हो । कार्यालयका अनुसार गत चैत ३० गतेदेखि वैशाख १५ गतेसम्म संकलन भएका लाइटर, मदिरा, कैँची, घ्यु, मसला लगायतका वस्तुहरू विमानस्थलको डम्पिङ क्षेत्रमा नष्ट गरिएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले सुरक्षा संवेदनशीलता र हवाई सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै ती सामग्रीहरू नष्ट गरिएको जानकारी दिनुभयो । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र नेपाल सरकारको सुरक्षा निर्देशिका बमोजिम प्रज्वलनशील पदार्थ, धारिलो हतियार र तरलजन्य पदार्थहरू विमानको क्याबिनमा लैजान प्रतिबन्ध लगाइएको छ ।
विमानस्थल सुरक्षा कार्यालयले यात्रुहरूलाई हवाई यात्रा गर्नुअघि प्रतिबन्धित सामग्रीहरूको सूचीका बारेमा सचेत रहन र सुरक्षा जाँचमा सहयोग पुर्याउन समेत आग्रह गरेको छ ।