विश्वकप लिग–२: वर्षा बाधक बन्दा नेपाल ओमानसँग पराजित
काठमाडौँ, १६ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग १०२ रनले (डिएल मेथड) पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि ३०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले वर्षाका कारण खेल रोकिनुअघि ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो ।
त्यसपछि वर्षा नरोकिएपछि खेलको नतिजा ‘डकवर्थ लुइस’ (डिएल) पद्धतिका आधारमा निकालिएको थियो, जसमा ओमान विजयी ठहरियो ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले संघर्षपूर्ण ब्याटिङ गर्दै सर्वाधिक ६० रनको योगदान दिए । उनले ६२ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याटरहरूमा भीम सार्कीले २८ र आसिफ शेखले १९ रन बनाए । आरिफ शेख र गुलशन झाले समान १४–१४ रन जोड्दा कप्तान रोहित पौडेल १० रनमै पभेलियन फर्किए । ओमानका नदिम खानले ३ र शाकिल अहमदले २ विकेट लिएर नेपाली इनिङ्सलाई धराशयी बनाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल खडा गरेको थियो । ओमानका ओपनर जतिन्दर सिंहले विष्फोटक ब्याटिङ गर्दै १३० रनको सानदार शतकीय पारी खेले । उनले मात्र ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गरेका थिए ।
मध्यम क्रममा जितेन रमणन्दीले ४३, आर्यन विष्टले ३५ र हमाद मिर्जाले ३० रनको योगदान दिए । नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले किफायती बलिङ गर्दै ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट हात पारे ।
नेपाल, यूएई र ओमान सम्मिलित यो त्रिकोणात्मक शृङ्खलामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा यूएईलाई हराएको नेपालले अब आगामी वैशाख १८ गते पुनः यूएईसँगै प्रतिस्पर्धा गर्नेछ । घरेलु मैदानमा ओमानसँगको यो हारले नेपाललाई अंक तालिकामा केही दबाब थपेको छ ।