वडास्तरीय खेलकुदले राष्ट्रिय खेलाडी उत्पादनमा सघाउ पुग्ने कार्यवाहक प्रमुख डंगोलको विश्वास
काठमाडौँ, वैशाख १६ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा स्तरमा आयोजना हुने खेलकुद कार्यक्रमहरूले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न र खेल क्षेत्रको जग बलियो बनाउन महत्त्वपूर्ण योगदान दिने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ८ द्वारा आयोजित ‘दोस्रो वडाध्यक्ष कप फुटसल प्रतियोगिता’को मंगलबार उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
खेलकुद विकास र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा एन्फाका रेफ्रीलाई बल हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले खेलकुद केवल मनोरञ्जन मात्र नभई वडाभित्रको सामाजिक सम्बन्ध र एकतालाई प्रगाढ बनाउने माध्यम समेत भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै वडा नं. ८ का वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई पहिचान गरी उनीहरूलाई उचित मञ्च प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको स्पष्ट पार्नुभयो । युवाहरूलाई खेलप्रति आकर्षित गर्दै उनीहरूको शारीरिक स्वास्थ्य, तन्दुरुस्ती र सामूहिक कार्य प्रणालीको विकास गर्नु नै यस प्रतियोगिताको मुख्य लक्ष्य रहेको उहाँको भनाइ थियो ।
वैशाख १५ गतेदेखि सुरु भएको यस प्रतियोगिता आगामी २१ गतेसम्म चल्नेछ । प्रतियोगितामा वडाभित्रका कुल ६ वटा टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा गुरुमार्ग (अर्चना), गौरीशंकर युवा क्लब र सिर्जनशील युवा क्लब रहेका छन् भने समूह ‘ख’ बाट सन्ध्या पुस्तकालय, अमरकान्तेश्वर युवा समूह र जय वागेश्वरी युवा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
उद्घाटनका दिन पहिलो खेल गुरुमार्ग (अर्चना) र गौरीशंकर युवा क्लबबीच भएको थियो भने दोस्रो खेलमा जय वागेश्वरी युवा क्लब र सन्ध्या पुस्तकालय आमने–सामने भएका थिए । स्थानीय खेलकुदको प्रवर्धन र खेलाडीको मनोबल उच्च राख्न यस्ता प्रतियोगिताले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ ।