टोखा नगरपालिकाले वडा–वडामा निःशुल्क ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरिने
काठमाडौँ, १७ वैशाख । टोखा नगरपालिकाले नगरवासीको स्वास्थ्य परीक्षण र उपचारका लागि आगामी वैशाख २० गतेदेखि वडास्तरमै निःशुल्क ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले नसर्ने रोगको समयमै पहिचान, रोकथाम र विशेषज्ञ सेवासहितको यस कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हाे।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख प्रकाश अधिकारीले यसअघि अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र सीमित रहेको यो कार्यक्रमलाई यस वर्षदेखि अझ प्रभावकारी बनाउन वडा–वडामा विस्तार गर्न लागिएको जानकारी दिए।
उनका अनुसार वैशाख २० गते आइतबार वडा नं. ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस वर्षको कार्यक्रम शुभारम्भ गरिनेछ। त्यसपछि प्रत्येक वडामा तीन–तीन दिनको तालिका बनाएर स्वास्थ्य सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार प्रत्येक वडामा सञ्चालन हुने तीन दिने कार्यक्रमलाई व्यवस्थित रूपमा विभाजन गरिएको छ।
कार्यक्रमको पहिलो दिन ३० वर्षभन्दा माथिका नागरिकहरूका लागि नसर्ने रोगको परीक्षण (स्क्रिनिङ) गरिनेछ। यसअन्तर्गत तौल र उचाइको अनुपात (बीएमआई), रक्तचाप, सुगर, पिसाबमा एल्बुमिन, क्षयरोगको खकार परीक्षण तथा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर (भीआईए) परीक्षण गरिनेछ। परीक्षणका क्रममा स्वास्थ्य समस्या देखिएकाहरूलाई थप उपचारका लागि दोस्रो दिनको शिविरमा पठाइनेछ।
दोस्रो दिन वडाभित्र स्थायी रूपमा बसोबास गर्ने ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिक र ६० देखि ७० वर्ष उमेर समूहका लक्षित वर्गलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिनेछ। सोही दिन प्रयोगशाला परीक्षणका लागि नमुना सङ्कलन, भिडियो एक्स–रे (USG) र ईसीजी (ECG) सेवा उपलब्ध गराइनेछ। नगरपालिकाका अनुसार थाइराइड र प्रोस्टेट (PSA) को परीक्षण भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने व्यवस्था मिलाइएको छ।
कार्यक्रमको तेस्रो दिन विशेषज्ञ चिकित्सकले रिपोर्टका आधारमा बिरामीलाई निःशुल्क औषधि वितरण, स्वास्थ्य परामर्श र आवश्यकताअनुसार थप उपचारका लागि अन्य अस्पतालमा रिफर (प्रेषण) गर्नेछन्।
नगरप्रमुख अधिकारीले रोग लागेपछि उपचार गर्नुभन्दा समयमै रोगको पहिचान गरी जोखिम न्यूनीकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। “अहिलेसम्म स्वास्थ्य परीक्षण नगराई आफूलाई स्वस्थ ठानेर बसिरहेका नागरिकलाई यस कार्यक्रमले समेट्नेछ,” उनले भने, “नगरवासीको स्वास्थ्य संरक्षण र गुणस्तरीय सेवामा पहुँच बढाउन यो हाम्रो उच्च प्राथमिकता प्राप्त कार्यक्रम हो।”