म्याग्दी ‘कोरिडोर’ १३२ केभी प्रसारण लाइनको निर्माण सुरु: १६४ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी, १९ वैशाख । म्याग्दी नदीमा निर्माणाधीन तीनवटा ठूला जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी क्षमताको ‘म्याग्दी कोरिडोर’ विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ। धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीका आयोजनाहरूले संयुक्त रूपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन निर्माण गर्न लागेका हुन्।

१६.४८ किलोमिटर लामो यो प्रसारण लाइन धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि मालिका गाउँपालिका–७ डाँडाखेतस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसम्म विस्तार हुनेछ। यस कोरिडोरमार्फत कुल १६४.७५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रवद्र्धक एवं हाइड्रो इम्पाएरका सञ्चालक पूर्णबहादुर पुनले जानकारी दिनुभयो।

यस आयोजनामा म्याग्दी नदीमा निर्माणाधीन तीन प्रमुख आयोजनाहरूले साझेदारी गरेका छन्:
म्याग्दीखोला जलविद्युत् आयोजना: ६५ मेगावाट
माथिल्लो म्याग्दी जलविद्युत् आयोजना: ४६.२५ मेगावाट
अपर म्याग्दी जलविद्युत् आयोजना: ५३.५ मेगावाट

कुल ४२ करोड ६२ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ५७ वटा टावरहरू निर्माण गरिनेछ। आयोजनाका लागि ८.४० हेक्टर निजी जग्गा र २१.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ। आयोजनाले निजी जग्गाधनीहरूलाई मुआब्जा उपलब्ध गराउने र वन क्षेत्रको प्रयोगबापत सरकारलाई जग्गा सट्टाभर्ना गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

प्रसारण लाइन निर्माणका क्रममा हुन सक्ने वातावरणीय प्रभाव न्यूनीकरणका लागि ४१ लाख ७५ हजार रुपैयाँ र सामाजिक सहयोग कार्यक्रमका लागि २१ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ। स्थानीयको सुझाव समेटिएको वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि निर्माण कार्यलाई थप तीव्रता दिइनेछ।

म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख उत्तम पौडेलका अनुसार यो प्रसारण लाइन आगामी ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। २०८१ साल असोजमा सर्वेक्षण अनुमति प्राप्त गरेको यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को कार्यसूची ऊर्जा मन्त्रालयबाट गत चैत १२ गते स्वीकृत भइसकेको छ। यो कोरिडोर सम्पन्न भएसँगै म्याग्दी नदी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहमा रहेको अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।