आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ, २३ वैशाख । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घालाई ‘सप्तधाम’ का रूपमा विकास गरी नेपालकै प्रमुख साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराका अनुसार, सो स्थानमा ‘भानु साहित्य उद्यान’ निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरी काम अगाडि बढाइएको छ।

“उद्यान निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरी मूल्याङ्कनको चरणमा छौँ। पहिलो चरणको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ,” बोहराले भने, “आगामी वर्षका लागि पहुँचमार्ग र भानुघर निर्माण गर्न बजेट प्रस्ताव गरिएको छ।”

स्थानीय बासिन्दा सन्देश आचार्यले यस उद्यानले सिङ्गो क्षेत्रकै विकासमा कायापलट गर्ने विश्वास व्यक्त गरे। “भानु साहित्य उद्यानले यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक र साहित्यिक उन्नयनमा ठुलो टेवा पुर्‍याउनेछ,” उनले भने।

गुरुयोजनाअनुसार चुँदीरम्घाको उत्तरतर्फको रम्घाडाँडामा परम्परागत गोलघर शैलीमा ‘भानु भवन’ निर्माण गरिनेछ। सो भवनभित्र भानुभक्त आचार्यको जीवनीलाई झल्काउने चित्राङ्कन, उनका स्मृति र कृतिहरूसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरू सङ्ग्रह गरिनेछ।

सबैभन्दा आकर्षक पक्षका रूपमा, उक्त भवनको माथि ५४ फिट अग्लो पलेँटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा (मूर्ति) निर्माण गरिनेछ।

यसका साथै, उद्यानको दक्षिणतर्फ विविध भाषा र साहित्यिक स्रष्टाहरूको सम्मानमा ‘मूर्तिबाटिका’ निर्माण गरिनेछ। मूर्तिबाटिकाको तल्लो भागमा भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञाभवन, वनस्पति उद्यान (बोटानिकल गार्डेन), वनभोज स्थल र पार्किङ क्षेत्र निर्माण गर्ने विस्तृत योजना रहेको छ।

भानु साहित्य उद्यानको सम्पूर्ण गुरुयोजना कार्यान्वयन र निर्माण सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले गुरुयोजना कार्यान्वयनका लागि हालसम्म ४३५ रोपनी जग्गा अधिग्रहण गरिसकिएको जानकारी दिए। “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै आदिकवि भानुभक्त आचार्यको विशिष्ट पहिचान छ,” नगरप्रमुख त्रिपाठीले भने, “त्यसैले यस ठाउँलाई सबै किसिमको सुविधासहितको ‘साहित्यिक धाम’ बनाउने परिकल्पनाका साथ हामी अगाडि बढेका छौँ।”

उद्यान निर्माणको प्रारम्भिक चरणअन्तर्गत जग्गा अधिग्रहण तथा अन्य कार्यमा हालसम्म १ करोड ८० लाख ४१ हजार ५०० रुपैयाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ।