तीन दिनपछि बिपी राजमार्ग पुनः सञ्चालनमा, यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीको आग्रह
काठमाडौँ, वैशाख २४ । विगत तीन दिनदेखि बाढीका कारण अवरुद्ध बनेको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको सडक खण्डमा अस्थायी ‘डाइभर्सन’ निर्माण गरिएसँगै सवारी आवागमन सुचारु भएको हो ।
गत सोमबारको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गको विभिन्न ठाउँमा अवरोध सिर्जना गरेको थियो । सडक खुले तापनि वर्षाको जोखिम अझै कायम रहेकाले जिल्ला प्रहरी कार्यालयले अत्यावश्यक कामबाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
प्रहरीका अनुसार, रोशी क्षेत्रको करिब चार किलोमिटर खण्डमा निर्माण गरिएको अस्थायी डाइभर्सन निकै जोखिमपूर्ण अवस्थामा छ । वर्षा हुनेबित्तिकै उक्त डाइभर्सनमा क्षति पुग्ने सम्भावना रहने भएकाले सुरक्षाका लागि प्रहरीले तत्कालै आवागमन बन्द गराउने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरू धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिने गरेका छन् ।
गत वर्षको बाढी र पहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो । हाल सो क्षेत्रमा स्थायी सडक निर्माणको कार्य जारी रहे तापनि तत्कालका लागि खोलाकै किनारमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको छ । सडकको अवस्था कमजोर रहेकाले चालक र यात्रुहरूलाई मौसमको अवस्था हेरेर मात्र यात्रा तय गर्न सुझाव दिइएको छ ।