जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी पूरा : एक हजार बढी धावक सहभागी हुने
काठमाडौँ, वैशाख २४ । कर्णालीको पर्यटन र साहसिक खेलकुदलाई विश्वभर चिनाउने उद्देश्यका साथ आयोजना हुन लागेको सातौँ संस्करणको ‘जुम्ला–रारा अल्ट्रा म्याराथन’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कर्णाली स्पोर्ट क्लबको आयोजनामा यही वैशाख २६ गते हुने यस प्रतियोगिताले जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारातालसम्मको पदमार्गलाई खेल पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ ।
यस वर्षको प्रतियोगितामा नेपालसहित विभिन्न सात देशका गरी एक हजारभन्दा बढी खेलाडीहरूले सहभागिता जनाउने भएका छन् । क्लबका अध्यक्ष सरोज शाहीका अनुसार सबैभन्दा चुनौतीपूर्ण ५४ किलोमिटरको अल्ट्रा म्याराथनमा १३५ जना धावकले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, १० किलोमिटर दौडमा २०० जना र ५ किलोमिटरमा ६५० जना सहभागी हुने निश्चित भएको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरको आकर्षण बढेको छ । भारत, फ्रान्स, अमेरिका, बेलायत, नेदरल्याण्ड र इटालीका धावकहरूले आफ्नो नाम दर्ता गराएका छन् । जसमध्ये भारत र फ्रान्सका खेलाडीहरू प्रतियोगिताका लागि जुम्ला पुगिसकेका छन् ।
प्रतियोगिताको मुख्य विधा ५४ किलोमिटर दौडतर्फको पुरस्कार राशि आकर्षक राखिएको छ । यस विधामा प्रथम हुनेले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौँ स्थान हासिल गर्ने धावकलाई समान २०-२० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी, १० किलोमिटर दौडतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँ पुरस्कार दिइनेछ । ५ किलोमिटरतर्फ भने क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपियाँ पुरस्कार राशिको व्यवस्था गरिएको छ । ५४ किलोमिटर दौडका लागि स्थानीय धावकलाई तीन हजार र अन्य धावकलाई पाँच हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडेलले यस प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्यलाई विश्वमा फैलाउन र साहसिक पर्यटनको विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कर्णाली स्पोर्ट क्लबले विगत सात वर्षदेखि यो प्रतियोगिता निरन्तर सञ्चालन गर्दै आएको छ ।