नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि बढ्यो, सुन प्रतितोला झण्डै ३ लाख नजिक
काठमाडौँ, २५ वैशाख । स्थानीय बजारमा सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी छ । अघिल्लो दिन (बिहीबार) को तुलनामा आज सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ र चाँदी १ सय २० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आज चाँदी (सेतो धातु) को मूल्य बढेर प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँ पुगेको छ ।
यसअघि बिहीबार बजारमा छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय र चाँदी ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय र चाँदी ५ हजार ५० रुपैयाँ तोकिएको थियो । पछिल्ला केही दिनको तथ्याङ्क हेर्दा सुनचाँदीको मूल्यमा लगातार वृद्धि भइरहेको देखिन्छ ।
स्थानीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उछाल आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ७ सय १५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।