हस्तकलाका सामग्रीबाट स्वरोजगार बन्दै कैलालीका ९० बढी महिला

काठमाडौँ, बैशाख २६ । कैलालीको टीकापुर र भजनी नगरपालिकाका ९० भन्दा बढी महिलाहरू हस्तकलाका सामग्री निर्माण गरी स्वरोजगार बनेका छन् । फुर्सदको समयलाई उत्पादनमूलक काममा लगाउँदै यहाँका महिलाहरूले घरमै बसेर मासिक १० देखि २० हजार रुपियाँसम्म आम्दानी गर्न थालेका हुन् ।

भजनी-६ थापापुरका जनक चौधरीले सञ्चालन गरेको हस्तकला उद्योगका माध्यमबाट यी महिलाहरूले रोजगारी पाएका हुन् । काठमाडौँमा सीप सिकेर फर्किनुभएका चौधरीले गत वर्षदेखि करिब २० लाख रुपियाँको लगानीमा टीकापुर र थापापुरमा उद्योग सुरु गर्नुभएको हो । उद्योगमा हाल हात्ती, भेडा, कुकुर जस्ता जनावरका आकृति, चराचुरुङ्गी र विभिन्न प्रकारका आकर्षक गुडियाहरू निर्माण हुने गरेका छन् ।

यी सामग्रीहरू विशेष गरी झोला, बस र कारहरूमा सजावटका लागि प्रयोग गरिन्छ । उत्पादित सामग्रीहरू देशका विभिन्न सहरका साथै विदेशमा समेत निर्यात हुने गरेको सञ्चालक चौधरीले जानकारी दिनुभयो । “माग अत्यधिक छ तर उत्पादन पुर्‍याउनै गाह्रो भएको छ,” उहाँले भन्नुभयो, “अहिले टीकापुरमा ६० र थापापुरमा ३० जना महिलाले काम गरिरहेका छन्, अझै धेरै कामदारको आवश्यकता छ ।”

उद्योगमा कार्यरत महिलाहरूले आफ्नो घरायसी काम र बालबच्चाको जिम्मेवारी सम्हाल्दै बाँकी समयमा सामग्री तयार पार्ने गरेका छन् । गौलौरीकी राममती चौधरी भन्नुहुन्छ, “पहिले ज्यालादारी काम गर्थेँ, अहिले घरकै काम भ्याएर पनि महिनाको १५ हजारसम्म कमाउँछु । फुर्सदको समय सदुपयोग हुनुका साथै आर्थिक रूपमा पनि सहज भएको छ ।”

यस्तै, काठमाडौँमा यही काम गरेर फर्किनुभएकी प्रतिमा चौधरीलाई आफ्नै गाउँठाउँमा काम पाउँदा खुसी लागेको छ । उहाँले दैनिक कामको आधारमा कहिलेकाहीँ एक हजार रुपैयाँसम्म कमाउने गरेको बताउनुभयो । अर्की कामदार राधा चौधरीका अनुसार छोराछोरीलाई स्कुल पठाएपछि बचेको समयमा काम गर्दा घरखर्च चलाउन निकै सजिलो भएको छ ।

कच्चापदार्थका रूपमा धागो, ऊन र सियो स्वदेशमै पाइने भए पनि केही सामग्री भने विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको सञ्चालकको भनाइ छ । स्थानीयस्तरमै उद्योग सञ्चालन भई महिलाहरू आयआर्जनमा जोडिनुले समाजमा सकारात्मक प्रभाव पारेको छ । स्थानीय पवी रावलका अनुसार महिलाहरू आर्थिक रूपमा सक्षम हुँदा उनीहरूको जीवनस्तरमा सुधार आउनुका साथै आत्मविश्वास समेत बढेको छ ।