होटल तथा पर्यटन पूर्वाधारमा लगानी बढेसँगै रुपन्देही पर्यटकीय ‘हब’ बन्दै

काठमाडौँ, वैशाख ३० । होटल तथा पर्यटन पूर्वाधारमा लगानीको क्रम तीव्र भएसँगै रुपन्देही जिल्ला देशकै प्रमुख पर्यटकीय केन्द्र (हब) का रूपमा विकास हुन थालेको छ। लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित हुन थालेपछि यहाँ स्तरीय होटलहरू थपिने क्रम बढेको हो ।

विशेष गरी भैरहवा-लुम्बिनी करिडोर र जिल्लाका मुख्य सहरी क्षेत्रमा पाँचतारेदेखि तीनतारेसम्मका होटलहरू सञ्चालनमा आएका छन् भने कतिपय ठूला परियोजनाहरू निर्माणाधीन अवस्थामा छन्। लुम्बिनी आउने पर्यटकहरूका साथै काठमाडौँ, पोखरा, चितवन र बर्दिया जाने पर्यटकहरूका लागि पनि भैरहवा मुख्य ‘ट्रान्जिट’ विन्दु बनेकाले यहाँ पर्यटकीय चहलपहल बढेको व्यवसायीहरूको विश्लेषण छ ।

सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार जिल्लामा हाल पाँचतारे होटलको सङ्ख्या उल्लेख्य छ। अहिले हायात प्यालेस, टाइगर प्यालेस, भिलासा र लुम्बिनी हेरिटेजजस्ता ठूला होटलहरू सञ्चालनमा रहेका छन् भने बुद्धचोक लगायतका क्षेत्रमा अन्य पाँचतारे होटलहरू अन्तिम चरणमा पुगेका छन् ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष राजेश महोत्राले भारतीय पर्यटकलाई लक्षित गरी होटल क्षेत्रमा अर्बौँको लगानी भइरहेको बताउनुभयो। उहाँले सीमावर्ती क्षेत्रबाट आउने पर्यटकहरूको सङ्ख्या उच्च रहेकाले रुपन्देहीलाई केवल विश्रामस्थल मात्र नभई प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय होटल चेनहरू हायात, मेरियट, होलिडे इन र क्राउन प्लाजाजस्ता ब्रान्डको चासोले गर्दा जिल्लाको पर्यटन छवि थप बलियो बनेको होटल व्यवसायी अनिल ज्ञवालीको भनाइ छ । यद्यपि, पर्यटकको बसाइ अवधि लम्ब्याउनका लागि थप पर्यटकीय गतिविधि र प्याकेजहरू आवश्यक रहेको पर्यटन व्यवसायी किशोर जोशी बताउनुहुन्छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटल र क्यासिनोहरूमा पनि लगानीकर्ताको आकर्षण बढेको छ । यससँगै रुपन्देही लुम्बिनी प्रदेशकै प्रमुख आतिथ्य केन्द्रका रूपमा उदाउँदै गएको सरोकारवालाहरूले बताएका छन् ।