स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरण : इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ
काठमाडौँ, ३० वैशाख । सरकारको स्वामित्वमा आइसकेको ‘स्मार्ट टेलिकम’ को सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई पक्राउ गरिएको पुष्टि गरेको छ । सीआईबी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीले घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
सरकारले नियन्त्रण (टेकओभर) मा लिइसकेको स्मार्ट टेलिकमका उपकरण र सम्पत्ति बैंकले ‘एनसेल’ लाई लिलाम बिक्री गरेको थियो । यसै विषयमा गम्भीर अनियमितता भएको भन्दै अनुसन्धानको माग राखेर चार्टर्ड एकाउन्टेन्ट भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही उजुरी र अदालतको प्रक्रियाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
यसैगरी, यस प्रकरणमा अन्य बैंकको समेत संलग्नता खुल्दै गएको छ । अनुसन्धानका क्रममा बिनाधितो ४ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्ने कार्यमा ‘प्राइम बैंक’ को पनि मिलेमतो देखिएको सीआईबी स्रोतले जनाएको छ । यस विषयमा सीआईबीले थप अनुसन्धानलाई तीव्र पारेको छ ।