सुनचाँदीको मूल्यमा उतारचढावः सुन तोलामा ७०० रुपैयाँले घट्दा चाँदी १५ रुपैयाँले बढ्यो

काठमाडौँ, ३० बैशाख । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले ओरालो लागेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन (मङ्गलबार) सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य घटे पनि आज चाँदी (सेतो धातु) को मूल्यमा भने सामान्य वृद्धि भएको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ७१० रुपैयाँ कायम भएको छ। मङ्गलबार चाँदी प्रतितोला ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो।

स्थानीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा भइरहेको कारोबारले पनि यहाँको मूल्यमा प्रभाव पार्ने गर्छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ७२५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।