एसइई नतिजाः सिन्धुपाल्चोकका सात सामुदायिक विद्यालय ‘शून्य’
चौतारा, ३० बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सिन्धुपाल्चोकका सातवटा सामुदायिक विद्यालयको नतिजा शून्य (नील) आएको छ। शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुपाल्चोकका अनुसार ती विद्यालयबाट साधारणतर्फ परीक्षा दिएका सबै विद्यार्थी ‘ननग्रेडेड’ (अवर्गीकृत) भएका हुन्।
सबै विद्यार्थी ननग्रेडेड हुने विद्यालयहरूमा लिसङ्खुपाखर गाउँपालिकास्थित बुद्धोदय मावि र धर्मोदय मावि रहेका छन्। त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि, बलेफी गाउँपालिकाको वनसाँघु मावि, भोटेकोशी गाउँपालिकाको मार्मिङ मावि र भीमसेन मावि तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलको नतिजा पनि शून्य भएको समन्वय एकाइले जनाएको छ।
यद्यपि, शून्य नतिजा ल्याएका यीमध्ये तीनवटा विद्यालयमा प्राविधिक धारको समेत पठनपाठन हुँदै आएको छ। लिसङ्खुको बुद्धोदय मावि, भोटेकोशीको भीमसेन मावि र हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलका प्राविधिक धारतर्फका केही विद्यार्थी भने ‘ग्रेडेड’ हुन सफल भएका छन्। साधारणतर्फ भने यी विद्यालयका कुनै पनि विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेनन्।
समन्वय एकाइका अनुसार एसइई २०८२ मा सिन्धुपाल्चोक जिल्लाबाट जम्मा १४३ वटा विद्यालयले सहभागिता जनाएका थिए। जसमा १२९ वटा सामुदायिक, ११ वटा संस्थागत (निजी) र तीनवटा खुला विद्यालय रहेका थिए। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै यतिबेला जिल्लामा चिन्ता व्यक्त गर्न थालिएको छ।