नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम भने बढेर सवा ३ अर्ब नाघ्यो
काठमाडौँ, ३१ बैशाख । धितोपत्र बजार (सेयर बजार) को मापक नेप्से परिसूचक बिहीबार पनि घटेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले बिहीबार (तेस्रो दिन) पनि सोही गतिलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से परिसूचक १०.०७ अङ्कले घटेर २७३०.१७ विन्दुमा झरेको छ। समग्र नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.३४ अङ्कले घटेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स ०.५८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अङ्कले ओरालो लागेका छन्।
नेप्सेको अङ्क घटे पनि यस दिन कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। बुधबार २ अर्ब ८० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३३७ वटा कम्पनीका ७९ लाख ५८ हजार कित्ता सेयर ४६ हजार ४०२ पटक खरिदबिक्री भएका थिए।
बजार घटे पनि बिहीबार युनियन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयरमूल्य ९.७९ प्रतिशतले बढेको छ। त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने अन्य कम्पनीहरूको वृद्धिदर ४ प्रतिशतभन्दा कम छ।
यता, एशियन हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको सेयरमूल्य सर्वाधिक ९.८९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा बिहीबार हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ३७ करोड ६८ लाख २६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, साहस ऊर्जा र एसवाई प्यानल नेपालको साढे १८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री हुँदा युनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।
नेप्सेमा कारोबार हुने १३ वटा उपसमूहमध्ये बिहीबार १० वटाको परिसूचक घटेको छ भने तीनवटाको मात्र बढेको छ। यस दिन जीवन बीमा, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अङ्कले बढेको छ। यता, ‘अन्य’ उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशतले घटेको छ भने बाँकी उपसमूहहरूमा सामान्य गिरावट देखिएको छ।