लगानीकर्तामा आत्मविश्वास नहुँदा कर्जा प्रवाह सुस्त, खराब कर्जा १० वर्षयताकै उच्च : सिबिफिन
काठमाडौँ, ३१ वैशाख । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले बैंकहरूमा पर्याप्त तरलता भए पनि लगानीकर्ताको आत्मविश्वास कमजोर हुँदा अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकेको बताएको छ । आर्थिक पत्रकारहरूसँगको अन्तरक्रियामा सिबिफिनका पदाधिकारीहरूले अर्थतन्त्रमा देखिएको सुस्तताका कारण व्यवसायीहरू अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गरे ।
अन्तरक्रियामा सिबिफिनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले न्यून ब्याजदर हुँदा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले बैंकिङ क्षेत्रमा देखिएका केही कमजोरीहरूलाई समेत स्वीकार गर्नुभयो । “बैंकहरूबीचको अस्वस्थ प्रतिस्पर्धा, जथाभाबी शाखा विस्तार र कमजोर धितो मूल्याङ्कन जस्ता समस्याले गर्दा अहिले खराब कर्जा बढेको हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसमा सुधार गर्नुको विकल्प छैन ।”
सिबिफिनले प्रस्तुत गरेको तथ्याङ्कअनुसार बैंकहरूको खराब कर्जा (एनपीएल) ५.३४ प्रतिशत पुगेको छ, जुन पछिल्लो १० वर्षयताकै उच्च हो । सन् २०१७ मा २.६३ प्रतिशत र सन् २०२५ मा ४.६२ प्रतिशत रहेको खराब कर्जा अहिले ५ प्रतिशत नाघेको हो ।
संस्थाका उपाध्यक्ष राजेश उपाध्यायले समग्र अर्थतन्त्रमा आएको सङ्कुचनले बैंकिङ क्षेत्र प्रभावित भएको बताउनुभयो । यद्यपि, पछिल्लो राजनीतिक परिवर्तन र सरकारले सुशासनमा देखाएको तत्परताले आशा जगाएको उहाँको भनाइ थियो । “सरकारले सात वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ, यसका लागि लगानीमैत्री वातावरण अनिवार्य छ,” उपाध्यायले जोड दिनुभयो ।
सिबिफिनका महासचिव मनोजकुमार गोयलले निर्माण क्षेत्र सुस्त भएका कारण कर्जाको माग घटेको विश्लेषण गर्नुभयो । उहाँले निक्षेपको ब्याजदर धेरै घट्दा पुँजी पलायनको जोखिम बढ्नेतर्फ पनि सचेत गराउनुभयो । “बैंकिङ क्षेत्र अर्थतन्त्रको ऐना हो । अर्थतन्त्र बलियो नभई यो क्षेत्र मात्र सुरक्षित रहन सक्दैन,” गोयलले भन्नुभयो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि सुस्त कर्जा प्रवाह र बढ्दो खराब कर्जालाई सम्बोधन गर्न नीतिगत स्पष्टता र व्यवसायीको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिएका थिए ।