सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि कार्यवाहक प्रमुख डंगोल : १,४६६ शिक्षकलाई विशेष क्षमता विकास तालिम

काठमाडौँ,  जेठ १ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको रणनीतिक नेतृत्वमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुदृढ बनाउन शिक्षकहरूको क्षमता विकास र प्रोत्साहन कार्यक्रमलाई तीव्रता दिइएको छ । यसै अभियानअन्तर्गत महानगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न विधामा गरी १ हजार ४६६ जना शिक्षकहरूलाई व्यावसायिक तालिम प्रदान गरेको छ । 

महानगरको शिक्षा विभागका अनुसार, शिक्षकको ज्ञान, सीप र शिक्षण शैलीमा समयानुकूल सुधार ल्याई कक्षाकोठाको सिकाइलाई प्रभावकारी बनाउने उपप्रमुख डङ्गोलको योजना अनुरूप यी तालिमहरू सञ्चालन गरिएका हुन् ।

विधागत तालिमको विवरण:
चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न तालिमहरूमध्ये बाल विकास सहजकर्ता (इसीडी) तर्फ १२४ जना र मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना शिक्षक सहभागी भएका छन्। यस्तै, नेपाल भाषा प्रशिक्षण अन्तर्गत सामुदायिक विद्यालयका १६४ जना र संस्थागत विद्यालयका ११६ जना शिक्षकलाई प्रशिक्षित गरिएको छ  ।

सूचना तथा सञ्चार प्रविधि को बढ्दो महत्त्वलाई आत्मसात् गर्दै ३८५ जना शिक्षकलाई प्रविधि सम्बन्धी विशेष तालिम दिइएको छ। यसैगरी, एकीकृत पाठ्यक्रम कार्यान्वयन, मूल्याङ्कन र विषयगत प्रश्नपत्र निर्माणमा ४६० जना तथा प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीहरूको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी भएका छन् ।

नेतृत्वको सोच र कार्यान्वयन:
महानगरका शिक्षा अधिकारी नमराज ढकालले उपप्रमुख डङ्गोलको निर्देशन र भिजन अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी कार्यतालिका निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “शिक्षकहरूलाई केवल तालिम मात्र दिने नभई उहाँहरूले सिकेको सीप र आचरणलाई कक्षाकोठामा व्यवहारिक रूपमा प्रदर्शन गर्न प्रोत्साहन गर्ने महानगरको मुख्य लक्ष्य रहेको छ ।”

सामुदायिक विद्यालयको भौतिक पूर्वाधारका साथै मानवीय संसाधनको विकासमा जोड दिँदा मात्र शिक्षामा आमूल परिवर्तन सम्भव हुने उपप्रमुख डङ्गोलको मान्यता रहेको छ । यस कार्यक्रमले शिक्षकहरूको मनोबल उच्च बनाउनुका साथै महानगरको शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास महानगरपालिकाले लिएको छ ।