सुनको मूल्यमा गिरावट: एकैदिन तोलामा ४ हजारले घट्यो
काठमाडौँ, १ जेठ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ र चाँदीको मूल्य ३५५ रुपैयाँले घटेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार भने सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ रहेको थियो ।
चाँदीको मूल्यमा पनि आज ठूलो गिरावट देखिएको छ । बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ३९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य ५ हजार ७१० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ६७८ र चाँदी प्रतिऔँस ८७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।