चितवनका बजारमा अब ‘याक चिज’ उपलब्ध

काठमाडौँ, जेठ ५ । चितवनका उपभोक्ताहरूका लागि बजारमा पहिलो पटक ‘याक चिज’ उपलब्ध गराउन थालिएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्ना विभिन्न डेरी मार्टहरूमार्फत यसको बिक्री वितरण सुरु गरेको हो ।

सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार, दुग्ध विकास संस्थान (डिडिसी) द्वारा उत्पादित याक चिजलाई आइतबारदेखि जिल्लामा आधिकारिक रूपमा भित्र्याइएको हो । उपभोक्ताहरूको माग र रुचिलाई ध्यानमा राख्दै हाल परीक्षणका रूपमा यो चिज बिक्रीमा ल्याइएको र आगामी दिनमा माग बढ्दै गएमा यसको आयातलाई थप विस्तार गरिने जानकारी अध्यक्ष बगालेले दिनुभयो ।

सङ्घले याक चिजका अतिरिक्त डिडिसीद्वारा उत्पादित अन्य दुग्धजन्य वस्तुहरू समेत आफ्ना मार्टहरूबाट बिक्री गर्ने तयारी गरिरहेको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने सङ्घको नीतिअनुरूप विविध स्वाद र गुणस्तरीय वस्तु उपभोक्तासम्म पुर्‍याउन यो कदम चालिएको बताइएको छ ।

हाल सङ्घले सञ्चालन गरेका मार्टहरूमा आफ्नै उद्योगबाट उत्पादित दूध, दही, पनिर, चिज, मोही, नौनी र घ्यू जस्ता दुग्धजन्य वस्तुहरू नियमित रूपमा उपलब्ध छन् । सङ्घले रत्ननगरस्थित आफ्नै प्रशोधन केन्द्र (उद्योग) मार्फत आफ्ना उत्पादनहरूलाई बजारीकरण गर्दै आएको छ ।