सुनको मूल्यमा गिरावट: एकैदिन तोलामा ३३ सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ, ६ जेठ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । यसअघि मंगलबार सुनको भाउ ५ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबार प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२५ रुपैयाँले घटेर ४ हजार ९६० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ४७९ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।