चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि, सबै बिरामी वैदेशिक रोजगारीबाट फर्किएका
चितवन, ६ जेठ । चितवन जिल्लामा चालु आर्थिक वर्षको हालसम्म १३ जनामा औलो (मलेरिया) रोगको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार औलोको आशङ्कामा परीक्षण गरिएका ३ हजार ९३ जनामध्ये १३ जनामा सङ्क्रमण पाइएको हो ।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमित सबै वैदेशिक रोजगारीबाट फर्किएका नेपाली हुन् ।
सङ्क्रमितहरूमा मुख्यतया ‘प्लाज्मोडियम फाल्सिपारम’ र ‘प्लाज्मोडियम भाइभेक्स’ गरी दुई प्रजातिका परजीवी देखिएका छन् ।
नेपालमा सामान्यतया ७० देखि ८० प्रतिशत बिरामीमा ‘भाइभेक्स’ परजीवी देखिने गरे पनि विदेशबाट फर्किएकाहरूमा ‘फाल्सिपारम’ प्रजातिको परजीवी बढी भेटिने गरेको छ । यो प्रजातिले मानिसको स्नायु प्रणालीमा समेत गम्भीर असर पार्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगमा लगातार वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने र कम्पन छुट्ने जस्ता लक्षणहरू देखिन्छन् । पसिना आएपछि ज्वरो घट्ने भए पनि यो रोग समयमै उपचार नभए ज्यान लिने समेत हुन सक्छ।
लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको मुख्य रोकथाम हो । जनस्वास्थ्य कार्यालयले घर–आँगन र समुदाय सफा राख्न, लामखुट्टेले फुल पार्ने पानी जमेका खाल्डाखुल्डी पुर्न र सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । विदेशबाट फर्किएका व्यक्तिहरूमा ज्वरो आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गई परीक्षण गराउन समेत सुझाव दिइएको छ ।