प्राविधिक शिक्षा र रोजगारी प्रवर्धन गर्न लुम्बिनीमा पहिलो पटक ‘सिप च्याम्पियनसिप’ आयोजना गरिँदै
काठमाडौँ, जेठ ६ । लुम्बिनी प्रदेशका युवाहरूलाई प्राविधिक शिक्षा, सिप विकास र रोजगारीमुखी तालिमप्रति आकर्षित गर्ने उद्देश्यले रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८१’ आयोजना गरिने भएको छ। लुम्बिनी प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमले दक्ष जनशक्ति उत्पादन र स्वदेशमै सम्मानित रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ ।
रुपन्देही उद्योग सङ्घको आयोजना तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा यही जेठ ८ गते तिलोत्तमा नगरपालिकामा यो कार्यक्रम हुनेछ। सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कृष्णप्रसाद पराजुलीले कार्यक्रमबारे जानकारी दिनुभयो ।
नेपाल र स्विट्जरल्याण्ड सरकार बीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ को दोस्रो चरणको आर्थिक सहयोगमा यो च्याम्पियनसिप हुन लागेको हो । बजारमा दक्ष जनशक्तिको माग र उपलब्ध जनशक्तिको सीपबीच रहेको खाडल कम गर्न रोजगारदाता र युवाबीच प्रभावकारी समन्वय आवश्यक देखिएकाले यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो ।
च्याम्पियनसिपमा मुख्यतः सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ र होटल व्यवस्थापन विषयमा अध्ययनरत प्रशिक्षार्थीहरूबीच सिप प्रतिस्पर्धा गराइनेछ । यसका साथै, प्राविधिक तथा व्यावसायिक शिक्षाका चुनौती र अवसरबारे विज्ञहरूसँग ‘प्यानल छलफल’ समेत आयोजना गरिनेछ ।
सिप विकास संस्कृतिको प्रवद्र्धन गर्दै सरकार, रोजगारदाता र तालिम प्रदायक संस्थाहरूलाई एउटै मञ्चमा ल्याउने, उद्योग र प्राविधिक शिक्षालयबीचको सहकार्यलाई सुदृढ बनाउने, युवाहरूलाई वृत्ति परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी प्रदान गर्ने, सीपयुक्त जनशक्तिको माग र आपूर्ति बीचको दूरी घटाउने कार्यक्रमको उद्देश्य हो ।
कार्यक्रम स्थलमा वृत्ति परामर्श सेवा, उद्योग तथा व्यवसायसम्बन्धी स्टल प्रदर्शनी, र रोजगार सूचना केन्द्रका सेवाहरूबारे जानकारी दिने व्यवस्था मिलाइएको छ । आयोजकका अनुसार यस कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी-व्यवसायी, अभिभावक र सरोकारवाला निकायहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ ।