जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु, ७ करोडको लागतमा भदौभित्र काम सकिने
मुस्ताङ, ७ जेठ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम–कागबेनी खण्डको स्तरोन्नति कार्य सुरु गरेको छ। मुस्ताङको सदरमुकाम जोमसोमदेखि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने यो ९ किलोमिटर सडक खण्डलाई करिब ७ करोड रुपैयाँको लागतमा मर्मत तथा सुधार गर्न लागिएको हो।
वि.सं. २०७६ अगावै कालोपत्र भइसकेको यो सडक गत वर्षको वर्षा र पहिरोका कारण विभिन्न स्थानमा क्षतिग्रस्त भएको थियो। विशेषगरी नाली (ड्रेन) र सुरक्षा पर्खालको अभावमा सडक भासिने र संरचनामा क्षति पुग्ने समस्या देखिएपछि आयोजनाले सालबसाली ठेक्का मार्फत यसको सुधार थालेको हो।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सडकलाई दीर्घकालीन र सुरक्षित बनाउन कालीमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको छ। निर्माण कम्पनीका स्थलगत इन्चार्ज सीताराम थापाले जेठ पहिलो सातादेखि कागबेनी क्षेत्रबाट काम सुरु भइसकेको जानकारी दिनुभयो। सम्झौता अनुसार आगामी भदौ १५ गतेभित्र स्तरोन्नतिको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्नेछ।
आयोजना कार्यालयका अनुसार यो ९ किलोमिटर दूरीमा निम्न पूर्वाधारहरू निर्माण गरिनेछ:
१८०० घनमिटर ग्याबिन वाल र ३५०० घनमिटर मेसिनरी वाल।
२०० घनमिटर प्लम्प कङ्क्रिट र ९०० घनमिटर आरसीसी ढलान।
पाण्डाखोला पुलको उत्तरतर्फ आरसीसी ढलान।
जोमसोम नजिकै भासिएको सडक संरक्षणका लागि विशेष ग्याबिन पर्खाल।
सडकका विभिन्न स्थानमा पक्की नाली निर्माण।
कोरला नाका र मुक्तिनाथ जाने मुख्य मार्ग भएकाले यो सडकको स्तरोन्नतिलाई निकै महत्त्वका साथ हेरिएको छ। काम समयमै सकिएमा आगामी पर्यटकीय सिजनमा तीर्थयात्री र पर्यटकहरूलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।