अश्लील क्रियाकलाप गरी सर्वसाधारणलाई हैरानी दिएको आरोपमा ठमेलबाट ९ विदेशी नागरिक पक्राउ

काठमाडौँ, जेठ ७ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई अश्लील क्रियाकलाप गरी हैरानी दिएको अभियोगमा ९ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-२६ ठमेल क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । ठमेलको सडकमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषहरूलाई बाटो छेक्ने, अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्ने र अनावश्यक दुःख दिने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईद्वारा आज जारी विज्ञप्तिअनुसार, सार्वजनिक स्थलमा अभद्र व्यवहार देखाउने र शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिमा संलग्न भएकाले उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पक्राउ परेका विदेशी नागरिकहरूको विस्तृत विवरण र उनीहरूमाथि हुने थप कानुनी कारबाहीका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।