१० महिनामै १७ खर्बको वस्तु आयात, साढे २ खर्बको निर्यात

काठमाडौँ, ८ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा झण्डै १७ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो ।

यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

आयातसँगै नेपालको निर्यातमा पनि केही सुधार देखिएको छ । समीक्षा अवधिमा नेपालले २ खर्ब ४८ अर्ब ९६ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४.२५ प्रतिशतको वृद्धि हो । गत वर्ष वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

नेपालले विदेशबाट आयात गर्ने वस्तुहरूमध्ये सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । विभागका अनुसार १० महिनामा १ खर्ब ३० अर्ब ९३ करोड ७४ लाख रुपैयाँको त डिजेल मात्रै आयात भएको छ । यस्तै, ५८ अर्ब ६३ करोड ९९ लाखको पेट्रोल र ४८ अर्ब ५ करोड २२ लाख रुपैयाँ बराबरको फलामको कच्चा पदार्थ भित्रिएको छ ।

यसैगरी, १ खर्ब ६ अर्ब ८२ करोड २८ लाख रुपैयाँ बराबरको सोयाबिन तेल तथा यसको कच्चा पदार्थ आयात भएको तथ्याङ्कले देखाएको छ । नेपालबाट निर्यात हुने वस्तुहरूमा सोयाबिन तेल (प्रशोधित र कच्चा पदार्थ) को हिस्सा सबैभन्दा धेरै देखिएको छ । १० महिनामा १ खर्ब १ अर्ब २६ करोड ८८ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ ।

यसबाहेक नेपालले ११ अर्ब ४२ करोड ४४ लाखको ठूलो अलैँची, ८ अर्ब ४८ करोड ३० लाखको कार्पेट तथा टेक्सटाइल र ७ अर्ब ४१ करोड १५ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात गरेको विभागले जनाएको छ । बढ्दो आयात र त्यसको तुलनामा न्यून निर्यातका कारण मुलुकको व्यापार घाटा झन् चुलिँदै गएको छ ।