बैंक कर्मचारीलाई थप काम लगाएबापत पारिश्रमिक दिनुपर्ने, अपाङ्गता भएकालाई विशेष सुविधा : राष्ट्र बैंक

काठमाडौँ, ९ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना कर्मचारीलाई कार्यालय समयभन्दा बढी काममा खटाएमा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) दिन निर्देशन दिएको छ। केन्द्रीय बैंकले जारी गरेको पछिल्लो निर्देशनअनुसार अब बैंकहरूले प्रचलित कानुन र व्यवस्थाबमोजिम मात्र कर्मचारीलाई अतिरिक्त समय काम लगाउन पाउनेछन्।

नयाँ व्यवस्थाअनुसार कुनै पनि कर्मचारीलाई उनको इच्छाविपरीत जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न पाइने छैन। यदि कार्यालय समयभन्दा बाहिर काममा खटाइन्छ भने त्यसबापतको थप पारिश्रमिक बैंकले उपलब्ध गराउनुपर्नेछ।

राष्ट्र बैंकले बैंकिङ सेवालाई थप समावेशी र सहज बनाउन जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका (अशिक्षित) सेवाग्राहीलाई विशेष प्राथमिकता दिन बैंकहरूलाई निर्देशन दिएको छ। यस्ता ग्राहकहरूको सहजताका लागि बैंकका शाखाहरूले छुट्टै ‘विशेष काउन्टर’ तोकेर सेवा दिनुपर्नेछ।

निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखालाई अनिवार्य रूपमा ‘अपाङ्गमैत्री’ बनाउनुपर्नेछ। अपाङ्गमैत्री बनाइएका त्यस्ता शाखाहरूको विस्तृत विवरण सम्बन्धित बैंकले आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रविधिको प्रयोगमा अपाङ्गता भएका व्यक्तिको पहुँच बढाउन राष्ट्र बैंकले एटिएम लाउन्जहरूमा विशेष व्यवस्था गर्न भनेको छ। बैंकहरूले कम्तीमा एउटा एटिएम मेसिनमा ब्रेल साइन कन्ट्रोल बटन (छामेर थाहा पाउने) र अडियो सपोर्ट (आवाज सुनिने) सुविधा राख्नुपर्नेछ। यस्तो सुविधा भएका एटिएम मेसिनहरूको सूची पनि वेबसाइटमा राख्न अनिवार्य गरिएको छ।

यसैगरी, अपाङ्गता भएका व्यक्तिले आफू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा एटिएम सेवा प्रयोग गर्न सक्षम रहेको ‘स्वघोषणा’ गरेमा उनीहरूलाई ती सेवाहरू उपयोग गर्न दिनुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ।