पाँचौं पेज थ्री पिपल्स च्वाइस अवार्डको मनोनयन घोषणा
काठमाडौं, (नेपालभाषा टाइम्स): नेपालभाषाको मनोरञ्जन पत्रिका पेज थ्री साप्ताहिकले आयोजना गरेको पाँचौं पेज थ्री पिपल्स च्वाइस अवार्डको मनोनयन घोषणा कार्यक्रम सम्पन्न भएको छ। कमलपोखरीस्थित सिटी सेन्टर फुड कोर्टमा ने.सं. ११४६ अनलाथ्व सप्तमी (२०८३ जेठ ९) गते आयोजित एक विशेष कार्यक्रमकाबीच विभिन्न विधाका मनोनयन सार्वजनिक गरियो।
कार्यक्रममा पेज थ्री साप्ताहिकका सम्पादक तथा अवार्डका निर्देशक दर्शनवीर शाक्यले स्वागत मन्तव्य राख्दै अवार्डको तयारीबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार यस वर्षको अवार्डमा कुल ७ वटा चलचित्रहरू समावेश भएका छन्। जसमा ‘झीगु कर्म’, ‘इन्दिरा धिमें मैंचा’, ‘तिबः’, ‘जय लाखे’, ‘बहिदार बाबु’, ‘लाखे आजु’ र ‘गालय् वन’ रहेका छन्। यसैगरी, कुल ८१ वटा गीत र ७१ वटा म्युजिक भिडियोहरू प्रतिस्पर्धामा उत्रिएका छन्।
मनोनयनमा उत्कृष्ट ३ चलचित्र र म्युजिक भिडियो तथा संगीत विधातर्फ उत्कृष्ट ५ विधामा मनोनयन घोषणा गरिएको छ।
पेज थ्री पिपल्स च्वाइस म्युजिक भिडियो अवार्डका मुख्य मनोनयनहरू:
उत्कृष्ट पुरुष मोडल: अनुज शाक्य, कर्म, किशोर चिपालु, लक्ष्मीकुमार महर्जन, सुदित श्रेष्ठ
उत्कृष्ट महिला मोडल: आराध्या लक्ष्मी खड्गी, रीतु श्रेष्ठ, रोजीना सुवाल, शोभा महर्जन, सृष्टि महर्जन
उत्कृष्ट छायांकन: अकृष्ट शाक्य, लुजः सिंह, रजिन महर्जन, सोहन मानन्धर, युयुष ढकाल
उत्कृष्ट निर्देशन: विश्वास बज्राचार्य, रजिन महर्जन, रामकृष्ण खड्गी, सुरज नापित, यौवन शाक्य
उत्कृष्ट म्युजिक भिडियो: जितः यःम्ह, मतिनाया सर्गतय्, ङेंङापा झ्यः, वइगु नुगलय्, येँयाः पुन्हि
पेज थ्री पिपल्स च्वाइस म्युजिक अवार्डका मुख्य मनोनयनहरू:
उत्कृष्ट पुरुष स्वर: भुपेन्द्रमान शाक्य, जिवित जल्मि, मथुरा महर्जन, राजकुमार मानन्धर, सतिश महर्जन
उत्कृष्ट महिला स्वर: दिपा महर्जन, कविता जोशी, रत्नशोभा महर्जन, रोजी डंगोल श्रेष्ठ, तेजवति जोशी
उत्कृष्ट गीतकार: अमृतरत्न शाक्य, विश्वास बज्राचार्य, कृष्णदास जोशी, राजकुमार माननधर, सुरजवीर बज्राचार्य
उत्कृष्ट संगीतकार: निल शाक्य, राजकुमार मानन्धर, सानुबाबु महर्जन, सुरज ब्यंजनकार, सुरेन्द्र श्रेष्ठ
उत्कृष्ट गीत: हाकनं छकः, खेलुइता, नुगःया मिखां, सः जिगु, यो मां जितः
पेज थ्री पिपल्स च्वाइस चलचित्र अवार्डका मुख्य मनोनयनहरू:
उत्कृष्ट पुरुष कलाकार (मुख्य भूमिका): बासु शाही (बहिदार बाबु), सुरज ब्यंजनकार (झीगु कर्म), सुशील राजोपाध्याय (तिबः द सपोर्ट)
उत्कृष्ट महिला कलाकार (मुख्य भूमिका): आशिष्मा नकःमि (लाखे आजु), रोजिना सुवाल (इन्दिरा धिमें मैंचा), शोभा महर्जन (गालय् वन)
उत्कृष्ट निर्देशन: आर्यम नकःमि (लाखे आजु), बासु शाही (बहिदार बाबु), सुरेन्द्र तुलाधर (इन्दिरा धिमें मैंचा)
उत्कृष्ट चलचित्र: गालय् वन, इन्दिरा धिमें मैंचा, लाखे आजु
पाँचौं पेज थ्री पिपल्स च्वाइस अवार्डको मुख्य कार्यक्रम जेठ ३० गते कीर्तिपुर सिनेप्लेक्समा आयोजना गरिने निर्देशक शाक्यले जानकारी दिनुभयो।
पेज थ्री पिपल्स च्वाइस अवार्ड मनोनयन घोषणा कार्यक्रम ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो। सभापति शाक्यले नेपालभाषाको सम्पूर्ण मनोरञ्जन क्षेत्रको समग्र विकासका लागि प्रत्येक चार वर्षमा यो अवार्ड कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो।
यस वर्षको अवार्डमा विभिन्न कृतिहरूमध्ये गोपालकृष्ण महर्जनको स्वर र निर्देशक सुरेन्द्र तुलाधरको निर्देशनमा तयार भएको ‘अय्ला अय्ला अय्ला’ लाई स्पेशल मेन्सन अवार्ड, जापान निवासी क्यारेन शाक्यलाई पेजथ्री हःपाः सम्मान, युके निवासी संयुक्त श्रेष्ठको दोस्रो एनिमेसन चलचित्र ‘जय लाखे’ लाई स्पेशल मेन्सन अवार्ड र संगीतकार जुगल डंगोललाई पेजथ्री सम्मान प्रदान गरिने जानकारी गराइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य माननीय शैलेन्द्रमान बज्राचार्य, अतिथि चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, न्हू जः गुथिका अध्यक्ष सुरबहादुर श्रेष्ठ, वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरें लगायतले मनोनयन प्राप्त कलाकार तथा सर्जकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले मुख्य कार्यक्रममा नेपालभाषा चलचित्र क्षेत्रमा भिडियो चलचित्रको सुरुवात गर्ने ‘चिपनिप’ चलचित्र, ‘चरित्र’ चलचित्र र ‘न्हिला न्हिला हुँ’ चलचित्रका निर्माताहरू दिवंगत संघदास ताम्राकार, रंजना जोशी र श्यामकृष्ण श्रेष्ठलाई सम्मान गरिने जानकारी दिनुभयो। यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड जनगायक रामकृष्ण दुवाललाई प्रदान गरिने पनि उहाँले बताउनुभयो।