रास्वपाका ५ सहित प्रतिनिधिसभाका ६ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाका ६ जना सदस्यले सङ्घीय संसद् सचिवालयले तोकेको समयसीमाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन सकेका छैनन् । सचिवालयले जेठ १० गतेसम्मको अन्तिम म्याद दिएकोमा २५४ जना सांसदले मात्रै विवरण पेस गरेका हुन्।

सम्पत्ति विवरण नबुझाउने ६ सांसदमध्ये ५ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रहेका छन् भने एक जना नेपाली कम्युनिस्ट पार्टीका सांसद छन्।

सचिवालयका अनुसार सम्पत्ति विवरण नबुझाउने रास्वपाका सांसदहरूमा आशा झा (मोरङ), कोमल ज्ञवाली (कैलाली), तपेश्वर यादव (सिरहा), प्रमोद कुमार महतो (महोत्तरी) र रबिन महतो (सर्लाही) रहेका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले पनि तोकिएको समयमा विवरण बुझाएका छैनन्। तर, बुढाले भने म्याद थपका लागि सचिवालयमा निवेदन दिएका छन्।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण तोकिएको निकायमा पेस गर्नु अनिवार्य हुन्छ।
समयमै सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदाधिकारीलाई १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ। यसका साथै, विवरण नबुझाउनेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको आशङ्कामा सूक्ष्म छानबिन समेत अघि बढाउन सक्ने कानुनी प्रावधान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *