कोशी प्रदेशसभामा तनावः रोस्ट्रम घेर्न खोज्ने सांसदलाई मर्यादापालकले रोके, बैठक अवरुद्ध
विराटनगर, १३ जेठ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दलहरूले कोशी प्रदेशसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध गरेका छन्। आजको बैठकमा प्रतिपक्षी सांसदहरूले रोस्ट्रम घेर्न खोजेपछि संसद्मा तनाव सिर्जना भएको छ।
बैठक सुरु हुनासाथ सभामुख अम्बरबहादुर विष्टले जनता समाजवादी पार्टी (जसपा) की संसदीय दलकी नेता निर्मला लिम्बूलाई बोल्नका लागि समय उपलब्ध गराएका थिए। तर, उनलाई बोल्न दिएलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले विरोध गर्दै नाराबाजी सुरु गरेका थिए।
विरोधकै बीच प्रतिपक्षी दल (नेकपा) का सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गर्न अगाडि बढेपछि संसद्का मर्यादापालकहरूले उनलाई रोकेका थिए। मर्यादापालक र सांसद राईबीच केहीबेर घम्साघम्सीको स्थिति सिर्जना भएको थियो।
सदनभित्रको परिस्थिति प्रतिकूल र तनावपूर्ण बनेपछि सभामुख विष्टले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका थिए। यद्यपि, स्थगित भएको लामो समय बितिसक्दा पनि दलहरूबीच सहमति नजुटेका कारण बैठक पुनः सञ्चालन हुन सकेको छैन।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी नभएको, यथार्थपरक नभएको र आफ्ना मागहरू सम्बोधन नगरिएको भन्दै प्रमुख प्रतिपक्षी दलले शनिबार (हिजो) देखि नै प्रदेशसभा बैठकमा अवरोध गर्दै आएको छ।