बजेट आउनुअघिको अन्तिम कारोबार दिन नेप्सेमा सकारात्मक , कारोबार रकम ६ अर्ब नाघ्यो

काठमाडौँ, १३ जेठ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघिको अन्तिम कारोबार दिन बुधबार धितोपत्र बजार (सेयर बजार) मा सकारात्मक सङ्केत देखिएको छ। अघिल्लो दिन (मङ्गलबार) सामान्य अङ्कले ओरालो लागेको नेप्से परिसूचक यस दिन भने बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ४.९९ अङ्कले बढेर २७८२.१० विन्दुमा पुगेको छ। समग्र नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.२१ अङ्क, फ्लोट इण्डेक्स ०.४३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अङ्कले बढेका छन्।

परिसूचक बढेसँगै बजारमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। मङ्गलबार ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा बुधबार कारोबार रकम बढेर ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँ पुगेको छ।

यस दिन ३५४ वटा कम्पनीका १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर ६० हजार ५६२ पटक खरिदबिक्री भएका थिए। बजार बढेको यस दिन कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १४.९८ प्रतिशतले बढेको छ। त्यस्तै, बुंगल हाइड्रोको सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढीले र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य साढे ८ प्रतिशतले उकालो लागेको छ। यता, ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ को मूल्य भने यस दिन सर्वाधिक ६.६४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि जलविद्युत् कम्पनीहरूकै दबदबा रह्यो। आँखु खोला जलविद्युत् कम्पनी ७१ करोड २२ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार गर्दै शीर्ष स्थानमा रहन सफल भएको छ। त्यसैगरी, रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँ र नेशनल हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

नेप्सेमा कारोबार हुने १३ वटा उपसमूहमध्ये बुधबार ९ वटाको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ। यस दिन बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अङ्कले उकालो लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *