सहकारी पीडितको घाउमा मलम लगाउँदै काठमाडौँ महानगर : कार्यवाहक मेयर डंगोलको अग्रसरतामा बचत फिर्ता सुरु
काठमाडौँ, जेठ १३ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रमा देखिएको संकट समाधानका लागि लिएको नीतिगत र व्यावहारिक सक्रियताको सुखद परिणाम देखिन थालेको छ । महानगरभित्रका सहकारीमा बचत डुबेका सर्वसाधारणलाई न्याय दिलाउन डंगोलले चालेको ‘स्थानीय मेलमिलाप र सक्रिय सहजीकरण’ को कदमले बचतकर्ताहरूमा नयाँ आशा जगाएको हो ।
यसैक्रममा आज काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा वडा नं ६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कार्यवाहक मेयर डंगोलको निर्देशनमा विभागले पछिल्लो समय ऋण असुली र बचत फिर्तालाई विशेष अभियानकै रूपमा अघि बढाएपछि यो उपलब्धि सम्भव भएको हो ।
साना बचतकर्तालाई प्राथमिकता
महानगरले ठुला कुरा गर्नेभन्दा पनि तल्लो तहका र साना बचतकर्ताको सुरक्षा गर्ने नीति लिएको छ । बुद्ध दर्शन सहकारीले आज १ लाख ५० हजार रुपियाँसम्म बचत गर्ने सदस्यहरूलाई रकम फिर्ता लिन विभागमा बोलाएको थियो । सहकारीका उपाध्यक्ष रविन लामाका अनुसार पहिलो चरणमा ७० जनालाई बोलाइएकोमा ३४ जनाले रकम बुझिलिनुभएको छ ।
“कार्यवाहक मेयरज्यूले साना बचतकर्ताको पैसा पहिले फिर्ता हुनुपर्छ भन्ने स्पष्ट मार्गनिर्देशन दिनुभएको छ,” विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भन्नुभयो, “त्यही अनुरूप बुद्ध दर्शनले आगामी एक महिनाभित्र ५ लाख रुपियाँसम्म बचत गर्नेहरूको रकम फिर्ता दिने योजना बनाएको छ ।”
वडा र महिला सञ्जाललाई जिम्मेवारी : डंगोलको नयाँ मोडल
कार्यवाहक मेयर सुनिता डंगोलले सहकारीको समस्या समाधान गर्न केवल महानगरको केन्द्रलाई मात्र नहेरी स्थानीय वडा र महिला शक्तिलाई परिचालन गर्ने नौलो रणनीति अख्तियार गर्नुभएको छ । महानगरले हालै मात्र वडा महिला सञ्जाललाई सहकारीको नियमन, व्यवस्थापन र मेलमिलापमा समन्वय गर्ने विशेष जिम्मेवारी प्रदान गरेको छ ।
अब सहकारी पीडितले न्यायका लागि महानगरको केन्द्र धाइरहनु पर्दैन । वडा अध्यक्षलाई सम्बोधन गरी निवेदन दिएपछि वडा महिला सञ्जालले सञ्चालक, बचतकर्ता र ऋणीबीच छलफल गराई मेलमिलापको प्रक्रिया थाल्नेछन् । यो प्रक्रियाले सहकारीलाई घरदैलोमै पुगेर जवाफदेही बनाउने डंगोलको विश्वास छ ।
ऋणीलाई चेतावनी : नतिरे प्रतिबन्ध
महानगरको यो अभियान बचत फिर्तामा मात्र सीमित छैन, ऋण नतिर्नेहरूमाथि पनि कडा हुने संकेत गरेको छ । विभागका प्रमुख काफ्लेका अनुसार ऋणीहरूले ऋण तिर्न आलटाल गरेमा उनीहरूको सार्वजनिक आधारभूत सेवामा प्रतिबन्ध लगाउन सकिने गरी कार्यविधि बनाइएको छ ।
“संस्थाका सञ्चालक सम्पर्कमा नआए कारबाहीका लागि सिफारिस गरिन्छ र ऋणीले अटेर गरे उनीहरूको बैंक खाता रोक्कादेखि अन्य सरकारी सेवामा रोक लगाउन वडा र विभागले कडाइ गर्नेछ,” काफ्लेले स्पष्ट पार्नुभयो ।
तथ्याङ्कको ऐना र आगामी चुनौती
काठमाडौँ महानगरपालिकाभित्र हाल ७२६ वटा सहकारी संस्था सम्पर्कमा छन् भने १ हजार १८६ वटा संस्था अझै सम्पर्क बाहिर छन् । यी सम्पर्क विहीन संस्थाहरूलाई पनि कानुनी दायरामा ल्याउन र बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न कार्यवाहक मेयर डंगोलले विभागलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
महानगरले चालेको यो ठोस कदमले सहकारी प्रतिको गुम्दै गएको जनविश्वास पुनः स्थापित गर्ने र पीडितले क्रमशः आफ्नो रकम फिर्ता पाउने आधार तयार भएको छ । बुद्ध दर्शन सहकारीबाट सुरु भएको यो बचत फिर्ताको लहर आगामी दिनमा अन्य समस्याग्रस्त सहकारीहरूमा पनि विस्तार हुने महानगरको अपेक्षा छ ।