वीरगञ्ज नाकाबाट १० महिनामा १ खर्ब ८१ अर्बको पेट्रोलियम आयात, राजस्व ६७ अर्ब सङ्कलन

पर्सा, १४ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु. १ खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरको विभिन्न छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ। यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३५ प्रतिशत (रु. २५ अर्ब ५३ करोड) ले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा यो नाकाबाट रु. १ खर्ब ५६ अर्ब १७ करोडको पेट्रोलियम पदार्थ भित्रिएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु. ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ।

डिजेल: चालु आर्थिक वर्षको १० महिनामा रु. १ खर्ब ५७ करोड मूल्य पर्ने ८ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात भएको छ। गत वर्षको सोही अवधिमा रु. ७९ अर्ब ५७ करोड मूल्य बराबरको ९ लाख ८५७ किलोलिटर डिजेल आयात भएको भन्सारको तथ्याङ्क छ।
पेट्रोल: समीक्षा अवधिमा रु. ३५ अर्ब ७९ करोड मूल्य बराबरको ३ लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ। गत वर्षको यसै अवधिमा रु. ३१ अर्ब ७१ करोड मूल्य बराबरको ३ लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो।

एलपी ग्यास: खाना पकाउने ग्यासको आयातमा भने यस वर्ष केही गिरावट आएको छ। चालु आर्थिक वर्षको १० महिनामा रु. २५ अर्ब ५४ करोड मूल्यको २४ करोड २७ लाख ३ हजार १५० किलोग्राम ग्यास आयात भएको छ। गत वर्षको सोही अवधिमा रु. ३० अर्ब २८ करोड मूल्य बराबरको २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपी ग्यास आयात भएको थियो।