सुर्खेतमा टिपरको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौँ, जेठ १४ । सुर्खेतमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । भेरीगङ्गा नगरपालिका-२, कालापानीका २३ वर्षीय कमल वलीको बिहीबार उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार राति कालापानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कप्र ०२-००१ ख ०६४७ नम्बरको टिपरले पैदलयात्री वलीलाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै घाइतेका बुबा दलबहादुर वलीले उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याउनुभएको थियो ।

अस्पतालले उपचारकै क्रममा वलीलाई मृत घोषणा गरेको हो । प्रहरीले टिपर चालक वीरेन्द्रनगर नगरपालिका-१० का ५२ वर्षीय मानबहादुर चौधरीलाई बुधबार नै घटनास्थलबाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।