मुकुन्द रिजाल स्मृति फुटबलको उपाधि वडा नं १६ लाई

काठमाडौँ, जेठ १४ । काठमाडौँ महानगरपालिका वडा नं १६ द्वारा आयोजित ‘स्व. मुकुन्द रिजाल स्मृति वडास्तरीय फुटबल प्रतियोगिता’को उपाधि आयोजक टोली वडा नं १६ ले जितेको छ । लैनचौरस्थित खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नं ५ को टोलीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै वडा १६ विजेता बनेको हो ।

विजेता टोलीलाई वडाध्यक्ष रोजिना श्रेष्ठले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसैगरी उपविजेता बनेको वडा नं ५ को टोलीले १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ वडा नं १६ का रविन्द्र निरौला ‘सर्वोत्कृष्ट खेलाडी’ र वडा नं ३ का प्रज्वल भट्ट (४ गोल) ‘हाइ स्कोरर’ घोषित हुनुभयो । उहाँहरू दुवैलाई जनही १० हजार रुपैयाँसहित ट्रफी र पदक प्रदान गरियो । यस्तै, वडा नं ५ का नितेश महर्जन उत्कृष्ट गोलकिपर घोषित हुनुभयो ।

गत जेठ १० गतेदेखि सुरु भएको यस प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका विभिन्न १३ वटा वडाहरू (वडा नं २, ३, ५, ९, १०, ११, १३, १४, १६, १९, २३, २५ र २६) को सहभागिता रहेको थियो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले निर्वाचन तथा विभिन्न आन्दोलनका कारण यस वर्ष प्रतियोगिता सञ्चालनमा केही ढिलाइ भए तापनि आगामी वर्षहरूमा हिउँद महिनामै यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।