बजेट सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल खस्कियाे, नेप्से २६ अङ्कले घट्दा कारोबार रकम साढे ५ अर्बमा सीमित
काठमाडौँ, १८ जेठ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपश्चात खुलेको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। बजेट भाषणअघि सामान्य बढेर बन्द भएको बजारमा बजेट सार्वजनिक भएपछिको पहिलो दिन भने ओरालो यात्रा तय गरेको हो।
सङ्घीय संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजार सम्बन्धी केही सकारात्मक व्यवस्थाहरू घोषणा गरे पनि आर्थिक विधेयकमार्फत पुँजीगत लाभकर वृद्धि गरेपछि लगानीकर्ताहरूको मनोबल खस्किएको विश्लेषण गरिएको छ। लगानीकर्ताहरूले लामो समयदेखि उठाउँदै आएको ‘पुँजीगत लाभकर नै अन्तिम कर हुने’ मागलाई बजेटले सम्बोधन गरे पनि सोही विधेयकमार्फत पुँजीगत लाभकरको दर २.५ प्रतिशत विन्दुले बढाएपछि लगानीकर्ताहरू निराश भएका हुन्।
सोमबार नेप्से परिसूचक २६.७२ अङ्कले घटेर २७५५.३७ विन्दुमा ओर्लिएको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.७८ अङ्क, फ्लोट इण्डेक्स १.४६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अङ्कले घटेको छ।
बजारमा गिरावट आउँदा कारोबार रकम पनि संकुचित भएको छ। गत बुधबार रु. ६ अर्ब ३ करोडको सेयर खरिद–बिक्री भएकोमा सोमबार ३४९ कम्पनीको ६३ हजार ७१९ पटकको कारोबारमा रु. ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार मूल्य बराबरको १ करोड ३३ लाख ८३ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।
नेप्से घटे पनि यस दिन कालिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उता बुंगल हाइड्रोको सेयर मूल्य सर्वाधिक १३.२० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी रु. ४३ करोड ४ लाख सहित शीर्ष स्थानमा रह्यो। यस्तै, नेपाल पुनर्बीमा कम्पनीको रु. ३७ करोडभन्दा बढी र हिमालयन रि–इन्स्योरेन्सको रु. २५ करोड ५० लाखभन्दा बढीको सेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक घटेको छ भने २ उपसमूह मात्र बढेका छन्। व्यापार उपसमूहको सूचक सर्वाधिक ६.१४ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। अन्य उपसमूह र निर्जीवन बीमा उपसमूहको सूचक भने क्रमशः ३.३६ र १.५ प्रतिशतले बढेका छन्।