युवा उद्यमशीलता प्रवर्धनका लागि कर्णाली प्रदेश सरकारले ब्याजमा अनुदान दिने

काठमाडौँ, जेठ १८ । कर्णाली प्रदेश सरकारले युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्न ब्याजमा अनुदान दिने नीति कार्यान्वयनमा ल्याएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले सरकारले यस्तो योजना ल्याएको जानकारी दिनुभयो ।

राष्ट्रिय युवा परिषद्द्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी’ को उद्घाटन गर्दै मन्त्री अधिकारीले उद्यमशीलता प्रवर्द्धनका लागि प्रदेश सरकारले १ करोड रुपियाँभन्दा बढी रकम विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरू राष्ट्रका मेरुदण्ड हुन् । उनीहरूलाई स्वरोजगार बनाउन सके मात्र वैदेशिक पलायन रोक्न सकिन्छ। यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ ।”

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरूलाई प्रविधिसँग जोड्दै उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नगरपालिकाले ४० वर्ष मुनिका महिलाका लागि अटोचालक तालिम जस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै युवाहरूलाई मेहनती बन्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले स्वदेशी उत्पादनको प्रोत्साहन र नेपाली नागरिकलाई स्वदेशमै टिक्ने वातावरण निर्माण गर्न परिषद्ले सातै प्रदेशमा स्टार्टअप प्रदर्शनी आयोजना गरिरहेको बताउनुभयो ।

प्रदर्शनीमा कर्णालीको मौलिक पहिचान बोकेका मार्सी चामल, सिमी, कोदो, फापर, चिनो, कागुनो जस्ता खाद्यान्नका साथै राडीपाखी, अल्लोका कपडा, जैविक चिया, मह र केराबाट निर्मित हस्तकलाका सामग्रीहरू समावेश गरिएको छ । प्रदर्शनीमा जम्मा २० वटा व्यापारिक कक्षहरू राखिएका छन् ।