नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा: अझै रहस्यकै गर्भमा बीभत्स घटना

काठमाडौँ, १९ जेठ । नेपाली इतिहासकै सबैभन्दा बीभत्स र रहस्यमय ‘नारायणहिटी दरबार हत्याकाण्ड’ भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबारका दिन तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी भएको उक्त त्रासदीपूर्ण घटनाको सम्झनामा आज देशभर विभिन्न चर्चा र स्मरण भइरहेका छन् ।

आजभन्दा २५ वर्षअघि आजकै दिन नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित राजपरिवारका १० सदस्यको मृत्यु भएको थियो । घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन र राजकुमारी श्रुतिको निधन भएको थियो । यस्तै, राजाका भाइ धीरेन्द्र शाह, दिदीबहिनीहरू शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह र कुमार खड्गविक्रम शाहले पनि सोही घटनामा ज्यान गुमाउनुभएको थियो । उक्त आक्रमण घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते हुनुभएको थियो ।

हत्याकाण्डपछि तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित एक उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । सो समितिले युवराज दीपेन्द्रले नै परिवारका सदस्यहरूमाथि गोली चलाएको र अन्त्यमा आफैँलाई गोली प्रहार गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तर, समितिको उक्त निष्कर्षलाई आम सर्वसाधारणले हालसम्म पनि सहजै स्वीकार गर्न सकेका छैनन् । घटनाको प्रकृति र परिस्थितिलाई लिएर जनस्तरमा अझै पनि अनेकौँ आशङ्का र प्रश्नहरू जीवितै छन् ।

मुलुकमा गणतन्त्र स्थापना भएपछि विभिन्न राजनीतिक दलका नेताहरूले दरबार हत्याकाण्डको पुनः निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने पटक–पटक प्रतिबद्धता जनाउँदै आएका छन् । तर, सत्ताको बागडोर सम्हालेपछि कुनै पनि सरकारले यस विषयलाई प्राथमिकतामा नराखेको भन्दै नागरिकस्तरबाट आलोचना हुने गरेको छ ।

२५ वर्ष बितिसक्दा पनि यो काण्डको वास्तविक तथ्य र कारण खुल्न नसक्दा नारायणहिटी हत्याकाण्ड नेपाली इतिहासको एक कहिल्यै सुल्झन नसक्ने रहस्यका रूपमा रहिरहेको छ । आज २५औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल र विभिन्न मञ्चहरूमा स्व. राजा वीरेन्द्रको सालिन व्यक्तित्व र उहाँको योगदानको चर्चा भइरहेको छ ।