काठमाडौँ महानगरपालिकाद्वारा ‘रञ्जना लिपि’ लेखन प्रशिक्षण सुरु
काठमाडौँ, १९ जेठ। काठमाडौँ महानगरपालिकाले ‘रञ्जना लिपि’ को राष्ट्रिय पहिचानलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न रञ्जना लिपि लेखन प्रशिक्षण सुरु गरेको छ । नेपाल लिपि, रञ्जना लिपि, अङ्क लिपि लेखन सीप (क्यालिग्राफी) र हस्तलिखित लिपिको अध्ययन प्रशिक्षणको मुख्य विषय रहेको कामपाको भनाइ छ । कामपा ले स्थानीय वडावासीलाई रञ्जना लिपिका लेखन प्रशिक्षण कक्षा ठँहिटीमा हरेक दिन बेलुका ५ः३० बजेदेखि सुरु हुन्छ । त्यस कक्षामा ३० जना प्रशिक्षार्थीको सहभागीता छ ।
कामपाका कार्यवाहक मेयर सुनिता डंगोलले लिपी सिकाउने अभियान शुरु गरेपछि अहिले यसले व्यापकता पाएको छ । रञ्जना लिपी सिक्ने प्रशिक्षार्थीहरु कार्यवाहक मेयर डंगोललाई नयाँ पुस्तामा आफ्नो मौलिक लिपी प्रवद्र्धन गर्ने आइडलका रुपमा नै थान्दछन् । कार्यवाहक मेयर डंगोलले पहिले टोल टोलमा गएर रञ्जना लिपी सिकाउने अभियानै थालेका थिए । यसले गर्दा पनि काठमाडौंमा रञ्जना लिपी सिक्ने जागरण नै आयो र युवा पुस्ताका वीच लोकप्रिय हुन थालेको हो ।
संयुक्त राष्ट्र सङ्घमा नेपाललाई छुट्टै राज्यका रुपमा मान्यता दिलाउन नेपालमा नै विकास भएको रञ्जना लिपिलाई आफ्नो लिपिका रुपमा पेस गरिएको थियो । प्रशिक्षणमा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सीप (क्यालिग्राफी) सिकाइँदैछ ।
‘नेपाल भाषा र रञ्जना लिपिमा १३ स्वर वर्ण हुन्छन् । व्यञ्जन वर्ण ४१ वटा हुन्छन् । नेपालमा लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपिलाई पहिलो लिपिका रूपमा मानिन्छ । नवौँ शताब्दीमा नेपाल लिपिको सुरुआत नेपालमा नै भएको हो । १३ औँ शताब्दीलाई यसको महत्वपूर्ण विकास भएको पाइन्छ । प्रविधि आएसँगै २०७३ सालदेखि यसलाई युनिकोडमा प्रयोग गर्न थालिएको छ । प्रविधिमार्फत भाषानुवाद गरेर पनि अहिले नेपाल लिपि र रञ्जना लिपि अध्ययन गर्न सकिने भएको छ ।