नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम ५ अर्ब ७३ करोड नाघ्यो

काठमाडौँ, २० जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अङ्कले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मङ्गलबार बढेर बन्द भएको बजारले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २.६६ अङ्कले बढेर २७८०.२५ विन्दुमा पुगेको छ। यसैगरी सेन्सेटिभ इण्डेक्स १.९३ अङ्क, फ्लोट इण्डेक्स ०.४१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अङ्कले बढेको छ।

नेप्सेसँगै यस दिन सेयर कारोबार रकममा पनि केही वृद्धि भएको छ। मङ्गलबार रु. ५ अर्ब २६ करोडको सेयर खरिद–बिक्री भएको बजारमा बुधबार ३४७ कम्पनीको ६२ हजार १४८ पटकको कारोबारमा रु. ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार बराबरको १ करोड ३५ लाख २१ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।

बुधबारको कारोबारमा कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य रु. ७४.७० ले बढेर अन्तिम कारोबार प्रतिसेयर रु. ५७२.९० कायम भएको छ।

यस्तै, ८.५ प्रतिशत ब्याजदरको ‘एसबीएल डिबेन्चर २०८४’ को मूल्य करिब १५ प्रतिशत र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ। उता, नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा भने ५.१८ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी रु. ४४ करोड २३ लाख ७ हजार सहित शीर्ष स्थानमा रहेको छ। यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब रु. २२ करोड र रिडी पावर कम्पनीको रु. २० करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत र जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढीले बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *