महानगर यातायातको सेवा विस्तार, चक्रपथमा थपिए १६ नयाँ विद्युतीय बस
काठमाडौँ, २१ जेठ । महानगर यातायात प्रालिले काठमाडौँ उपत्यकाको चक्रपथ (रिङरोड) मा आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बसहरू सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सुरु भएको यो सेवाले उपत्यकाको सार्वजनिक यातायातलाई थप आधुनिक, व्यवस्थित र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार विद्युतीय बसको सञ्चालन खर्च डिजेल बसको तुलनामा निकै कम र प्राविधिक रूपमा सरल भएकाले यसबाट व्यावसायिक रूपमा राम्रो प्रतिफल प्राप्त भइरहेको छ। ३३ सिट क्षमताका यी बसहरूमा यात्रुको सुविधाका लागि आरामदायी सिट र आधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ।
शशिला मोटर्स प्रालिमार्फत चीनबाट आयात गरिएका यी बसहरूमा १४४ किलोवाट क्षमताको ‘सिएटिएल’ ब्याट्री प्रयोग गरिएको छ। एक पटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने प्राविधिक क्षमता रहेको छ। बजारमा एउटा बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबको विकल्प विद्युतीय सवारी नै भएको बताउनुभयो। “सुरुवाती लगानी केही महँगो देखिए पनि दीर्घकालीन रूपमा यो निकै फाइदाजनक र प्रभावकारी छ,” उहाँले भन्नुभयो, “त्यसैले हामीले यस क्षेत्रमा लगानी बढाउँदै लगेका हौँ।”
यस्तै, शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठुला आकारका विद्युतीय बसको प्रवर्द्धनले देशको समग्र यातायात प्रणालीमा सुधार ल्याउने र इन्धन आयातमा हुने खर्च घटाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो।
महानगर यातायातले हाल काठमाडौँ उपत्यका र बाहिर गरी कुल १४० भन्दा बढी सवारी साधनमार्फत सेवा दिइरहेको छ। जसमा २८ वटा ठुला सिटी बस र २४ वटा माइक्रोबस गरी कुल ५२ वटा विद्युतीय सवारी साधन सञ्चालनमा रहेका छन्। आगामी दिनमा कम्पनीले आफ्ना सबै सवारी साधनलाई क्रमशः विद्युतीय प्रणालीमा लैजाने लक्ष्य राखेको छ।