नवलपरासीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चालक गम्भीर घाइते
काठमाडौँ, जेठ २२ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका १४, प्रगतिनगरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मध्यविन्दु नगरपालिका १ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते हुनुभएको छ । उहाँको हाल चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।