आज पहाडी क्षेत्रमा वर्षा र तराईमा तातो लहरको सम्भावना : सतर्क रहन मौसम विभागको आग्रह
काठमाडौँ, जेठ २२ । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रमा मौसम बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा वर्षा हुने र तराईका क्षेत्रमा तापक्रम बढ्ने देखिएको छ।
वर्षाको अवस्था
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा समेत फाट्टफुट्ट वर्षा हुन सक्ने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
तराईमा तातो लहर
वर्षासँगै तराईका जिल्लाहरूमा भने अत्यधिक गर्मी बढ्ने र तातो लहर चल्ने देखिएको छ । विशेषगरी मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘लु’ चल्ने सम्भावना रहेकाले विभागले विशेष बुलेटिनमार्फत सतर्कता अपनाउन आह्वान गरेको छ ।
आगामी तीन दिनसम्म तापक्रम उच्च रहने देखिएको छ । बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, र नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, र सप्तरीमा धेरै गर्मीको सम्भावना छ ।
स्वास्थ्य सुरक्षाका उपायहरू
बढ्दो गर्मी र तातो लहरबाट बच्न दिउँसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कने र शीतल स्थानमा बस्ने, बाहिर निस्कनै परेमा टाउको ढाक्ने गरी टोपी वा छाताको प्रयोग गर्ने, शरीरलाई शीतलता दिने हल्का र सुतीका कपडा लगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो पदार्थ र पुनर्जलीय झोलको सेवन गर्ने गर्मीबाट बच्ने उपाय हुन् ।
मौसममा आउने यस्तो परिवर्तनले जनस्वास्थ्य र दैनिक क्रियाकलापमा असर पार्न सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।