इतिहासकै ठूलो आईपीओ ल्याउँदै स्पेसएक्स : १.७७ ट्रिलियन डलरको मूल्यांकनसहित मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्ने दाउमा

 

टेक्सस (एजेन्सी), २१ जेष्ठ । ।विश्वकै धनी व्यक्ति एलोन मस्कको अन्तरिक्ष अनुसन्धान कम्पनी ‘स्पेसएक्स’ ले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले १.७७ ट्रिलियन (१७ खर्ब ७० अर्ब) अमेरिकी डलरको विशाल मूल्यांकनसहित सेयर बजारमा डेब्यु गर्न लागेको हो।

अमेरिकी धितोपत्र विनिमय आयोग  मा बुधबार दर्ता गरिएको प्रतिवेदनअनुसार, स्पेसएक्सले प्रतिसेयर १३५ डलरका दरले ५५ करोड ५६ लाख कित्ता सेयर बिक्री गर्ने योजना बनाएको छ। यस प्रक्रियामार्फत कम्पनीले करिब ७५ अर्ब डलर पुँजी संकलन गर्ने लक्ष्य राखेको छ।

विश्वकै सातौं मूल्यवान् कम्पनी बन्ने
यो आईपीओ सफल भएमा स्पेसएक्स बजार पुँजीकरणका आधारमा विश्वको सातौं ठूलो कम्पनी बन्नेछ। यसले मस्ककै इलेक्ट्रिक कार निर्माता कम्पनी ‘टेस्ला’ र सामाजिक सञ्जाल जायन्ट ‘मेटा’ (फेसबुक) लाई समेत पछि पार्नेछ। हाल यो सूचीमा स्पेसएक्स ताइवानी चिप निर्माता कम्पनी टीएसएमसी  भन्दा ठीक पछाडि रहनेछ।

यसअघि सन् २०१९ मा साउदी अरबको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ ले १.७ ट्रिलियन डलरको मूल्यांकनसहित २६ अर्ब डलर उठाएर कीर्तिमान कायम गरेको थियो। स्पेसएक्सले अरामकोको उक्त ऐतिहासिक रेकर्डलाई समेत तोड्ने देखिएको छ।

मस्क : विश्वकै पहिलो ट्रिलियनियर
स्पेसएक्समा मस्कको करिब ४२ प्रतिशत हिस्सा रहेको छ। अर्को हप्ता हुने यो सार्वजनिक निष्कासनसँगै मस्कको व्यक्तिगत सम्पत्तिमा ठूलो उछाल आउने र उनी विश्वकै पहिलो ‘ट्रिलियनियर’ (१ हजार अर्ब डलरका मालिक) बन्ने निश्चितप्रायः छ।

कम्पनीमा मस्कको सेयर स्वामित्व ४२ प्रतिशत भए पनि ‘ड्युअल क्लास’ स्टक संरचनाका कारण उनले ८२ प्रतिशत मतदान अधिकार (Voting Rights) सुरक्षित राख्नेछन्। यसले कम्पनीको नीति निर्माणमा उनको एकल वर्चस्व कायम राख्नेछ।

जोखिम र सम्भावनाको बहस
स्पेसएक्सले आगामी जुन १२ देखि न्यूयोर्कस्थित ‘नास्डाक’ ( स्टक एक्सचेन्जमा कारोबार सुरु गर्ने अपेक्षा गरिएको छ। सामान्यतया कम्पनीहरूले आईपीओ अघि मूल्यको एउटा दायरा तोक्ने गरे पनि मस्कले सिधै प्रतिसेयर १३५ डलर तोकेर नयाँ अभ्यास सुरु गरेका छन्।

यद्यपि, कम्पनीको वित्तीय अवस्थालाई लिएर केही विश्लेषकहरूले संशय व्यक्त गरेका छन्। सन् २०२५ मा १८.७ अर्ब डलर आम्दानी गरे तापनि कम्पनीले ४.९ अर्ब डलरको खुद घाटा बेहोरेको थियो। यस्तै, चालू वर्षको पहिलो त्रैमासिकमा मात्रै कम्पनी ४.३ अर्ब डलर घाटामा छ।

फ्लोरिडा विश्वविद्यालयका प्राध्यापक जय आर रिटर भन्छन्, “साउदी अरामको नाफामा चल्ने स्थापित कम्पनी थियो, तर स्पेसएक्सको मूल्यांकन अहिलेको नाफामा नभई यसको भविष्यको ‘क्षमता’ मा आधारित छ। कम्पनीले संकलन गरेको पुँजी नाफा कमाउनुको साटो मंगल ग्रहमा मानिस पठाउने मस्कको महँगो महत्वाकांक्षामा खर्च हुन सक्ने जोखिम पनि छ।”

एआई र इन्टरनेटको व्यापक बजार
सन् २००२ मा स्थापित स्पेसएक्सले नासा र निजी कम्पनीका लागि रकेट र स्पेसक्राफ्ट निर्माण गर्दै आएको छ। हाल यसले ‘स्टारलिंक’ मार्फत विश्वभर उपग्रह इन्टरनेट सेवा र XAI’ मार्फत आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि काम गरिरहेको छ।

बजार विश्लेषकहरूका अनुसार, यसै वर्ष ओपनएआई  र एन्थ्रोपिक  जस्ता ठूला एआई कम्पनीहरूको पनि आईपीओ आउने तयारीमा छ, जसले अमेरिकी सेयर बजारमा नयाँ तरंग पैदा गर्ने विश्वास गरिएको छ।