सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडी छानबिन गर्न संयुक्त समिति गठन, स्थलगत अनुसन्धान सुरु
काठमाडौँ, २२ जेठ । राजस्व छलीको आशंकामा सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनहरूका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक संयुक्त समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा संवेदनशील रहेकाले तत्कालै समिति गठन गरी स्थलगत रूपमै द्रुत अनुसन्धान अघि बढाइएको हो। ठूलो संख्यामा रहेका ती गाडीहरूको भन्सार सम्बद्ध कागजातहरूको सूक्ष्म अध्ययन र प्रमाणीकरण गर्ने कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार भन्सार छलीको आशंका र विशेष सूचनाका आधारमा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७५ वटा, नुवाकोटको पासाङल्हामु सडक खण्डबाट २ वटा र धादिङको आदमघाटबाट २ वटा गरी कुल ७७९ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएका हुन्।
सशस्त्र प्रहरी बलले आवश्यक र वैध कानुनी प्रक्रिया तथा भन्सार जाँचपास पूरा गरेर आएका अन्य कुनै पनि गाडीहरूलाई नरोकिएको स्पष्ट पार्दै कानुनसम्मत व्यवसाय गर्ने व्यवसायीहरूलाई त्रसित नहुन आग्रह गरेको छ।