एसियन छनोट फाइनल: हङ्कङद्वारा नेपाललाई दियाे १८९ रनको लक्ष्य

काठमाडौँ, २५ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनल खेलमा हङ्कङले नेपाललाई जितका लागि १८९ रनको लक्ष्य दिएको छ। सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको योगफल तयार पारेको हो।

हङ्कङका लागि प्रारम्भिक ब्याटर अंशुमन रथले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८० रनको योगदान दिए। उनले ४५ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै, सहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको मद्दतले ५५ रनको अर्धशतकीय इनिङ खेले भने शिव माथुरले २१ बलमा २६ रन जोडे।

बलिङतर्फ नेपालका लागि स्पिनर शेर मल्लले किफायती बलिङ गर्दै ४ विकेट लिए। यस्तै, तीव्र गतिका बलर करण केसीले २ विकेट झारे भने स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए।

यसअघि नेपालले सेमिफाइनलमा ओमानलाई र हङ्कङले मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए। फाइनल पुगेका दुवै टोली आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन खेलकुदका लागि यसअघि नै छनोट भइसकेका छन्।

यसैबीच, नेपाली टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आजको खेलमार्फत आफ्नो ट्वान्टी-२० अन्तर्राष्ट्रिय (टी-२० आई) करियरमा १०० खेल पूरा गरेका छन्। सन् २०१८ जुलाई २९ मा नेदरल्याण्ड्सविरुद्ध लण्डनको ऐतिहासिक लड्स मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका ऐरी नेपालका तर्फबाट १०० टी-२० आई खेल खेल्ने महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *