भोजपुरका किसानको मुख्य आम्दानी रुद्राक्ष : वार्षिक ५ लाखसम्म कमाइ, ‘पकेट क्षेत्र’ बनाइँदै

भोजपुर, २६ जेठ । भोजपुरको अरुण गाउँपालिका–७, सिक्रेटारस्थित मैदाने गाउँका किसानहरू यतिबेला व्यावसायिक रुद्राक्ष खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । परम्परागत खेती छाडेर किसानहरू कम मेहेनतमा धेरै प्रतिफल पाइने रुद्राक्षतर्फ आकर्षित भएका हुन् ।

अहिले यस क्षेत्रका कृषकहरूले रुद्राक्ष खेतीलाई नै आफ्नो मुख्य आयस्रोतका रूपमा विकास गरेका छन् । स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट यहाँका किसानले वार्षिक न्यूनतम १ लाखदेखि ५ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । “रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै व्यापारीहरू आउने गर्छन्,” थापा भन्छन्, “देशका विभिन्न ठाउँबाट खरिदका लागि व्यापारीहरू आउने भएकाले बजारको कुनै समस्या छैन । यसले हामीलाई थप उत्साहित बनाएको छ ।”

मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्षका लागि निकै उपयुक्त मानिन्छ । एकपटक बिरुवा रोपेपछि लामो समयसम्म उत्पादन दिने भएकाले यो खेती दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बनेको छ ।

रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापाले यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना अघि सारेका छन् । “अन्य बालीको तुलनामा रुद्राक्षबाट किसानले राम्रो लाभ लिइरहेका छन्,” वडाध्यक्ष थापाले भने, “त्यसैले यसको विस्तार र प्रवर्द्धनका लागि आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”

खेतीका लागि सिँचाइको अभाव हुन नदिन वडाले दुई वटा पोखरी निर्माण गरिदिएपछि धेरै किसान रुद्राक्ष खेतीमा जोडिएका छन् । साथै, गाउँसम्म सडकको पहुँच पुगेपछि उत्पादित रुद्राक्ष बिक्री गर्न र व्यापारीहरूलाई गाउँसम्म पुग्न सहज भएको छ ।

रुद्राक्ष खेतीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै किसानको आर्थिक अवस्थामा ठूलो सुधार ल्याएको छ । पछिल्लो समय रुद्राक्षले स्थायी आम्दानी दिन थालेपछि धेरै किसानले अन्नबालीभन्दा यसैलाई प्राथमिकता दिन थालेका छन् ।