एमाले अध्यक्ष ओलीकाे विशेष उपस्थितिमा पुनर्गठन कार्यदलको बैठक जारी
काठमाडौँ । नेकपा (एमाले) को पुनर्गठन र हालै सम्पन्न आमनिर्वाचनको समीक्षाका लागि गठित कार्यदलको बैठक आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसिरहेको छ ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठित कार्यदलको बैठकमा विशेष उपस्थितिका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएका छन् ।
एमालेले आमनिर्वाचनको नतिजाको वस्तुगत विश्लेषण गर्न र पार्टी संरचनालाई नयाँ ढङ्गले सुदृढीकरण गर्न यो कार्यदल गठन गरेको थियो । कार्यदलले निर्वाचनका क्रममा पार्टीको अवस्था, देखिएका कमजोरी र आगामी दिनमा पार्टीलाई कसरी पुनर्गठित गर्ने भन्नेबारे ठोस सुझावहरू तयार पार्ने जिम्मेवारी पाएको छ ।
आजको बैठकमा कार्यदलका सदस्यहरूले निर्वाचनको समीक्षासहित साङ्गठनिक सुदृढीकरणका लागि तयार पारेका प्रारम्भिक खाकाहरू प्रस्तुत गर्ने कार्यक्रम छ । बादल नेतृत्वको यस कार्यदलको प्रतिवेदनका आधारमा एमालेले आगामी केन्द्रीय कमिटीको बैठकबाट महत्त्वपूर्ण साङ्गठनिक निर्णयहरू लिने बताइएको छ । कार्यदलको बैठक अहिले पनि च्यासलमा जारी रहेको छ ।