ताप्लेजुङको हाङपाङमा प्रदेशस्तरीय अलैँची महोत्सव हुने

काठमाडौँ, जेठ २८ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगामी असार १२ र १३ गते ‘प्रदेशस्तरीय अलैँची महोत्सव’ आयोजना हुने भएको छ । अलैँची खेतीको प्रवद्र्धन, उत्पादन वृद्धि र बजार विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाको केन्द्र हाङपाङमा सो महोत्सव सञ्चालन गर्न लागिएको हो ।

महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा यो कार्यक्रम हुन लागेको हो । नेपालकै प्रमुख अलैँची उत्पादन क्षेत्र मानिने ताप्लेजुङमा आयोजना हुने यस महोत्सवले कृषक र व्यवसायीबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

दुई दिनसम्म चल्ने उक्त महोत्सवमा अलैँचीका विभिन्न प्रजातिका बोटबिरुवा, फल तथा अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी गरिनेछ । साथै, उत्कृष्ट र कमजोर अलैँची बगानहरूको स्थलगत अवलोकन तथा पहिचान गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

महोत्सवको अर्को मुख्य आकर्षणका रूपमा आधुनिक अलैँची खेतीसम्बन्धी कार्यशाला, क्रेता-बिक्रेताबीचको अन्तरक्रिया र बजारीकरणका चुनौतीबारे गहन छलफल हुनेछ । कार्यक्रममा सङ्घीय तथा प्रदेशसभाका सदस्यहरू, स्थानीय जनप्रतिनिधि र अलैँची विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई थप रोचक बनाउन अलैँची खेतीसँग सम्बन्धित खुला कविता प्रतियोगिता, लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछ । सोही अवसरमा अलैँची खेतीमा उल्लेखनीय योगदान पुर्‍याउने र उत्कृष्ट सफलता हासिल गर्ने किसानहरूलाई विशेष सम्मान गरिनेछ ।

हिमाली जिल्ला ताप्लेजुङमा उत्पादित उच्च गुणस्तरको अलैँचीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ । यस महोत्सवले आधुनिक प्रविधि र प्रशोधन विधिको प्रचार-प्रसार गर्दै किसानलाई व्यावसायिकतातर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ ।