विश्वकप फुटबलको महाकुम्भ सुरु हुनुअघि ‘मेस्सी मेनिया’ले ततायो अमेरिका: अलाबामामा मेस्सीको जादु, रोनाल्डोको अन्तिम तयारी

 

लस एन्जलस/अलाबामा (एजेन्सी), विश्वकप फुटबलको महाकुम्भ सुरु हुन अब मात्र २४ घण्टा बाँकी छ। खेलप्रेमीहरू मैदानमा बल गुड्ने क्षणको प्रतिक्षामा रहँदा विश्वभर फुटबलको ज्वरोले तताएको छ। आयोजकहरूले अन्तिम तयारीलाई तीव्रता दिइरहेका बेला अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आफ्नो जादुमयी प्रदर्शनमार्फत आफू अझै विश्व फुटबलको केन्द्रमा रहेको प्रमाणित गरेका छन्।

अलाबामामा मेस्सीको धमाका
सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएपछि धेरैले मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने लख काटेका थिए। तर, ३८ वर्षको उमेरमा पनि मेस्सीको क्रेज र क्षमतामा कुनै कमी आएको छैन।

सीएनएन स्पोर्ट्सका अनुसार, अमेरिकाको अलाबामास्थित जोर्डन-हेयर स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा मेस्सीले सबैको ध्यान खिचे। आइसल्याण्डविरुद्धको खेलमा मेस्सी सुरुवाती समय बेन्चमा रहे पनि स्टेडियममा उपस्थित ८८ हजार दर्शकको हुटिङले माहोल तताएको थियो। मांसपेशीको चोटबाट निको हुँदै गरेका मेस्सी खेलको अन्तिम २० मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए।

मैदान छिर्ने बित्तिकै उनले खेलको लय बदले। उनको ‘डिफेन्स-स्प्लिटिङ’ पासका कारण अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो, जसलाई मेस्सीले गोलमा परिणत गरे। अर्जेन्टिनाले आइसल्याण्डलाई ३–० ले पराजित गर्दै आफ्नो उपाधि रक्षाको अभियानमा उच्च मनोबलका साथ अघि बढ्ने संकेत दिएको छ। अर्जेन्टिना अहिले लगातार सात जितको कीर्तिमान सहित विश्वकपमा होमिँदैछ।

“खुसी बर्बरहरूको आगमन”: फिफा अध्यक्ष इन्फान्टिनो
यसैबीच, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको माहोललाई लिएर रमाइलो टिप्पणी गरेका छन्। लस एन्जलसमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले रोयटर्सलाई भने, “तपाईंको शहरमा ‘बर्बर’ (Barbarians) हरूको ठूलो जमात आउँदैछ, तर चिन्ता नगर्नुहोस्, यिनीहरू खुसी बर्बरहरू हुन्।”

उनले विश्वभरबाट आउने फुटबल फ्यानहरूले रंगशाला र शहरहरूलाई रंगिन बनाउने बताए। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको अनुहारमा आ–आफ्नो देशको झण्डाको रंग हुने र यसले उत्सवको रुप लिने उनको भनाइ छ।

रोनाल्डोको नजर पहिलो विश्वकप उपाधिमा
मेस्सीले अमेरिकामा जादु देखाउँदा उनका चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो पनि मैदान उत्रन तयार छन्। पोर्चुगलले आज नाइजेरियासँग मैत्रीपूर्ण खेल खेल्दैछ। यो पोर्चुगलको उत्तर अमेरिका प्रस्थान गर्नुअघिको अन्तिम अभ्यास खेल हो। पोर्चुगलको पहिलो खेल जुन १७ मा ह्युस्टनमा डीआर कंगोसँग हुनेछ। रोनाल्डोका लागि यो विश्वकप करियरको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण हुनसक्छ, किनकि उनको ट्रफी क्याबिनेटमा विश्वकपको उपाधि मात्र बाँकी छ।

कुरासाओ: सानो देश, ठूलो सपना
यसपटकको विश्वकपमा क्यारिबियन टापु कुरासाओ (Curaçao) सबैको आकर्षणको केन्द्र बनेको छ। जनसंख्याको हिसाबले विश्वकप खेल्ने यो अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्र बनेको छ। यद्यपि उपाधि जित्ने सम्भावना न्यून रहे पनि कुरासाओको टोलीले ‘भाइब्स’ (Vibes) ल्याएको भन्दै चर्चा बटुलिरहेको छ। सामाजिक सञ्जालमा उनीहरूले अभ्यासका क्रममा नाचेका र गाएका भिडियोहरू भाइरल भइरहेका छन्।

सुरक्षा व्यवस्था र आप्रवासीको चासो
अमेरिकामा आयोजना भइरहेको यो विश्वकपमा सुरक्षा व्यवस्थालाई लिएर पनि कडा कदम चालिएको छ। अमेरिकी सुरक्षा निकाय ‘इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट’ (ICE) ले खेलका दौरान सुरक्षा, मानव बेचबिखन नियन्त्रण र नक्कली टिकटको कारोबार रोक्न सक्रिय भूमिका खेल्ने बताएको छ।

धेरैले आप्रवासीहरूमाथि धरपकड हुनसक्ने आशंका गरे पनि होमल्याण्ड सेक्युरिटीले स्पष्ट पारेको छ कि कानुनी रूपमा खेल हेर्न आउने कसैले पनि डराउनु पर्ने छैन। उनीहरूको ध्यान केवल सुरक्षा र गैरकानुनी व्यापार रोक्नमा केन्द्रित हुनेछ।

विश्वकपको यो रौनकले आगामी केही हप्ता विश्वलाई फुटबलको एउटै सुत्रमा बाँध्ने निश्चित छ।